के.जी. बैदार, प्राध्यापक
(क्याम्पस प्रमुख, काभ्रे बहुमुखी क्याम्पस)

विषय प्रवेशः
बनेपा वकुटोलको ठुलो पोखरी (तः पुखु) को उत्तर –पश्चिम तर्फ पर्खालसंगै एउटा अपुर्ण देखिने नारी मूर्ति छ । केही वर्ष पहिलेसम्म सानो वेदीमाथि रहेको यस अनौठो प्रकारको नारी मूर्तिलाई यस स्थानमा केही ढुंगाहरुमा अड्याएर राखिएको अवस्था थियो । वकुटोल गणेश मन्दिरको पुनर्निर्माण हँुदा यस मूर्तिको आधार निर्माण गरी दाचि इट्टाहरुले पछाडि र वरपर समेत राम्रो बनाएर संरक्षित गरिएको छ । यस मूर्ति कमलासनमा छ । तर यस मूर्ति रहेको कमलासनलाई आधार (वेसमेन्ट) भित्र पारेर बनाएकोले हाल कमलासन देखिन्दैन ।
यस मूर्तिलाई स्थानीय मानिसहरुले गोठाले
(ग्वाचा) द्यो भन्दछन् । त्यस्तै कसै कसैले यस मूर्तिलाई तारा पनि भनेका छन् । वास्तवमा यस मूर्ति के हो ?
यस लेखमा यस मूर्ति के, कुन र कहिलेको हो भन्ने विषयमा अध्ययन गरिएको छ ।

अध्ययन विधिः
यस मूर्ति चिन्नको लागि यहाँ तुलनात्मक अध्ययन विधिलाई प्रयोग गरी यस्तै स्वरुपका अन्य मूर्तिसंग यस मुर्तिको तुलना गरी निरुपण गरिएको छ । साथै यस मूर्तिको लक्षण र विशेषताको मुल्यांकन समेत गरिएको छ ।

मूर्तिको स्वरुपः
यस मूर्ति स्थानक आसनमा रहेको छ । करिव ५ फिट अग्लो यस मूर्ति समभंग स्थितिमा कमलासन माथि उभिएको छ । कानमा वर्तुलाकार ठुला कुण्डल छन् र गलामा चेप्टो हार लगाइएको छ । यस मूर्तिको बायाँ हात अभय मुद्रामा छ भने दायाँ हातले लोटा जस्तो कुनै पात्र लिएको छ । यस्तै बुट्टेदार धोतीले सुसज्जित यस मूर्तिको कपाललाई ढाडसम्म पुग्ने गरी कपडाले ढाकिएको छ । यो मूर्ति नराम्रो संग खिइएको छ ।

मालिगाउकाँे मूर्तिः
काठमाण्डौको मालिगाउँ र हाँडिगाउँमा पाइएका मूर्तिहरु र यस बनेपा वकुटोलको मूर्तिको स्वरुप एवं लक्षणमा समानता पाइएका छन् ।
केही वर्ष अगाडि एउटा मानव कदको फुस्रो बलौटे ढुंगाको प्रतिमा मालीगाउँमा घरको जग खन्दा भेटिएको थियो । यो बलौटे ढुंगा सेतो सेतो पहेंलो रंग मिसिएको छ । यसप्रकारको ढुंगालाई नेपालभाषामा “सख्वा लोहँ“ भनिन्छ । यो मूर्ति बनेपाको मूर्ति जस्तै पाँच फिट सात इन्च अग्लो छ। त्यस मूर्तिको पादपीठमा सम्वत् १०७ को अभिलेख पनि छ । यस मूर्तिलाई केही इतिहासकारले राजा जयवर्माको हो भनेका छन् भने कसैले लिच्छवि राजा जयदेवको हुन सक्ने अनुमान गरेका छन् । तर इतिहासकार मोहनप्रसाद खनालले मूर्तिकलाको लक्षण र त्यसको पादपीठमा कुँदिएको अभिलेखलाई गम्भीरतापूर्वक अध्ययन गरेको खण्डमा यो मूर्ति यक्षको हो भन्ने कुरामा दुई मत हुन सक्दैन भनेका छन् । यस मूर्तिको तुलना मथुरा शैलीका प्राचीन यक्ष मूर्तिहरुसंग गर्न सकिन्छ । यस मूर्ति मथुरा, पटना, पवाया र उडिसामा प्राप्त यक्षमूर्ति जस्तै दुवै गोडा फारेर समभंग स्थानक आसनमा ठिंग उभिएका छन्।
लैनसिंह वांगदेलले यस मूर्तिलाई जय वर्माको ठहर गरेका छन् । उनले “जय वर्माको मूर्ति र नेपालको वर्मा वंश“ शीर्षकको आफ्नो पुस्तकमा यस मूर्तिको विवरण दिएका छन्, जस अनुसार यस मूर्तिको शिरमा अनौठो किसिमको टोपी लाएका छन्, शिरको बीचमा टम्म परेको, कपालको आकार जस्तै गोलोको वरिपरि बाहिरपट्टि घाम छेल्नको निम्ति जस्तो गरेर चारैतिर अलिकता घेरा बाहिर निकालेर फेरि त्यसलाई रेशमको फिताले निधारसम्म पुग्ने गरी टम्म बाँधेको छ । त्यो बाँधेको फितालाई दुवैपट्टिबाट पछिल्तिर लगी कपालको पछाडिपट्टि बाँधेको देखिन्छ। त्यसरी बाँधेको गाँठोबाट निस्केको रेशमको दुईवटा टुक्रा कलात्मक ढंगले लत्रिएको देखाइएको छ । मूर्तिको अनुहार लाम्चोलाम्चो, हँसिलो र उज्यालो देखिन्छ । लामालामा आँखिभौ र दुइवटा बान्की परेको आँखा देखिन्छन् । पुक्क परेको गालाबाट माथि उठेको सुडौल नाक र ओठ पनि माथि उठेको देखिन्छन् । त्यस्तै दुवैपट्टि कानमा मोटामोटा लुर्कन लाएका छन्। बांगदेलले यस्तो मोटामोटा कुण्डल भारतको दोस्रो तेस्रो शताब्दीका बुद्ध, बोधिसत्व र यक्षमूर्तिहरुमा निकै छन् भनेका छन् । तथापि यस मूर्तिलाई उनले पाटन टेबहाल अगाडिको बलभद्र यक्षको मूर्ति, हाडिगाउँको कुबेरको मूर्ति जस्ता एक दुइवटा मात्र फाटफुट यक्षको मूर्ति नेपाल उपत्यकामा प्राप्त भई यक्षको परम्परा नेपालमा व्यापक नभएकोले यक्षको मूर्ति हुन सक्दैन भनेका छन् । मोहनप्रसाद खनालले यस मूर्तिको दायाँ हात अभय मुद्रामा र बायाँ हात कटिविन्यस्त रहेको, शिरमा पगरी, कानमा बोझिला कुण्डल, गलामा चेप्टो कण्ठहार, छातीमा तीन कुने हारका साथै हातमा केयूर तथा आकर्षक कंकणले युक्त, ठूला एवम् ट्वाल्ल परेका अुाखा, तेजिलो अनुहार, कस्सिएका हात पाखुरा, बलिष्ठ शरीर, यस मूर्तिको अभयमुद्रामा स्थित दायाँ हात, दुवै गोडाका गोलीगाँठाभन्दा माथिका भाग तथा घाँटी भाँचिएर टाउको छुट्टिसकेको भए पनि यो मूर्ति भारतीय यक्ष परम्पराका कतिपय मूर्तिहरुसंग हुबहु मेल खाने भएकोले यस मूर्ति यक्षकै मूर्ति भएको निर्णय गरेका थिए । खनालले मुख्यतः यस मूर्तिको अभिलेखलाई विवेचना गरेर यस मूर्तिलाई यक्षकै भएको जिकीर गरेका हुन् । तर बांगदेलले अभिलेख वारे विवेचना गरेका थिएनन् ।

अभिलेखको व्याख्याः
यस मूर्तिको पादपीठमा रहेको अभिलेख यसप्रकारको छ – “संवत् १०७ श्री पन्चदेवप्व महाराजस्य जयवर्म ।” यस पाठलाई इतिहासकारहरुले फरक फरक किसिमले वाचन गरेका छन् । यस अभिलेखलाई कसैले “सम्वत १०७ फागुण शुक्ल चौथी “भनेर पढेका छन् भने कसैले “सम्वत २०७ श्री पन्चदेवमा चौथो महाराज जयवर्मा हो “भनेर पढेका छन् । खनालले यी दुवै व्याख्यालाई गलत भन्दै यसको ऐतिहासिकताप्रति पनि ध्यान दिनु पर्छ भनेर फरक व्याख्या गरेका छन् । उनले लेखेका छन् – “यक्षको एउटा संज्ञा राजा पनि हो । त्यसैले यक्षका राजा कुबेरलाई राजराजा अर्थात् राजाका पनि राजा महाराज भनिएको छ । मेघदूतमा महाकवि कालिदासले यक्षाधिपति कुबेरलाई ‘राजराजस्य ‘भनेका छन् । कुबेरको अर्को एउटा नाम पाँचिक पनि थियो। गान्धार देशमा पाँचिक तथा उनकी पत्नी हारतीको पूजा अर्चना हुन्थ्यो । त्यसैले यस अभिलेखमा भएको पन्चदेव र महाराज शब्दले यक्षाधिपति कुबेरलाई संकेत गरेको स्पष्ट देखिन्छ ।”
यसप्रकार मालिगाउँमा प्राप्त यस मानव कदको मूर्ति यक्षाधिपति कुबेरको भएको देखिन्छ ।

हाँडीगाउकाँे मूर्तिः
मालिगाउँ नजिकै हाँडीगाउँमा हात खुट्टा र टाउको नभएको यक्षको एउटा मूर्ति सडकको नजिकै खेतको खाल्डो जस्तो ठाउँमा प्राप्त भएको थियो । क्षत विक्षत भएको झण्डै मानव कदको समभंग खडा यस मूर्तिको घाँटीदेखि तल घँुडासम्म बचेको भाग र मालिगाउकाँे यक्षमूर्ति समान छन् । मालीगाउँको मूर्तिको बायाँ हातको कुममा बेरिएको उत्तरीय र यस मूर्तिको बायाँ कुममा बेरिएको उत्तरीयमा पनि कुनै फरक छैन । यस मूर्ति मालिगाउँको यक्षमूर्ति र भारतको मथुरा तथा पटनामा प्राप्त यक्षमूर्तिहरु एउटै किसिमका छन् । साथै हाँडिगाउँको यस मूर्तिको शारीरिक बनोट, बलिष्ठ काँध, फराकिलो छाती एवम् थोरै सानो कमर र कस्सिएका तिघ्राहरु भारतका विभिन्न ठाउँहरुमा प्राप्त यक्षमूर्तिसँग समान भएकोले यो मूर्ति यक्षकै भएको स्पष्ट छ ।

बनेपा वकुटोलका नारी मूर्तिः
वकुटोल गणेशस्थानको पूर्व तर्फ पोखरीको उत्तर– पश्चिममा पर्खालसँगै रहेको यस अनौठो प्रकारको नारी मूर्तिलाई सरसर्ति हेर्दा उक्त मूर्ति कसको हो भन्न गाह्रो छ । तर मोहनप्रसाद खनालले उक्त मूर्तिलाई सूक्ष्म परीक्षण गरेर यो कुनै यक्षणीको मूर्ति हो भन्ने स्पष्ट गरेका छन् । करिव पाँच फिट अग्लो यस मूर्ति दुईवटा गोडा फारेर समभंग स्थितिमा कमलासनमाथि उभिएको छ । यसको कानमा वर्तुलाकार ठूला कुण्डल र गलामा हार छन् । यी लक्षणहरु काठमाण्डौको मालिगाउँ र हाँडिगाउँमा प्राप्त यक्षमूर्तिहरुसंग मेल खान्छन् । यस मूर्तिको बायाँ हात अभय मुद्रामा र दायाँ हातले कुनै पात्र लिएको पाइन्छ । बुट्टेदार धोतीले सुसज्जित यक्षणीको कपाललाई ढाडसम्म पुग्ने गरी कपडाले ढाकेको छ। भारतको बेसनगरमा प्राप्त अहिले कलकत्ता संग्रहालयमा राखिएको यक्षणीको मूर्ति र बनेपा वकुटोलको यस नारी मूर्तिमा धेरै समानताहरु छन् । अतः वकुटोलको यस मूर्ति यक्षणीको मूर्ति हो भन्ने स्पष्ट छ ।
आनन्दकुमार स्वामीले बेसनगरको उक्त मूर्तिलाई इसापूर्व तेस्रो शताब्दीको मानेका छन् । तर खनालले इसापूर्व पहिलो शताब्दीताकाका केही मूर्तिहरुको आधारमा यस मूर्तिलाई इसाको तेस्रो शताब्दीताकाको हो भनेका छन् ।
यसप्रकार विद्वान मोहनप्रसाद खनालका अनुसार वकुटोलको यस मूर्ति १) यक्षणीको मूर्ति हो र २) यो इसाको तेस्रो शताब्दीताकाको हो भन्ने स्पष्ट भएको छ ।
यक्ष – यक्षणीः
शैव, बौद्ध र जैन धर्ममा यक्ष – यक्षणीहरुका असंख्य कथाहरु छन् । देव, दानव, राक्षस, नाग, गरुड, किन्नर, गंधर्व, मनुष्य, वानर आदि जस्तै यक्ष पनि एक प्रकारका गण हुन् । यक्ष शब्दको अर्थ ‘जादूको शक्ति ‘हो । यिनीहरु अलौकिक कार्यहरु गर्थे । जस्तै – आकाशमा हिड्ने, विलोप हुने, इच्छानुसार रुप धारण गर्ने आदि । भगवान बुद्धले पनि यी अलौकिक कार्यहरुलाई मानेका थिए ।
बुद्धको ‘अम्बष्ठसुक्त’ मा बज्रपाणी नामका यक्षको उल्लेख छ, जो आकाशमा फलामको मूसल बोकी गर्जेर उभिरहेका थिए ।
यक्षहरु भारतवर्षमा आर्य(देव)हरु आउनु भन्दा अगाडिदेखि नै थिए र त्यसताका यिनीहरुलाई देवताका रुपमा स्थानीयले पूज्दथे । पछि यिनीहरुको स्थान देवहरुले लिए । यी हिमाल मुनिका पहाड र जंगलमा बस्दथे । महाभारत अनुसार यी ताल र सरोबरहरुका रक्षकको रुपमा त्यस वरपर वस्दथे । यी बृक्ष, वन, जल र उर्वरतासंग सम्बन्धित हुन् । यक्षहरु वन र खानीका संरक्षक हुन् । अतः यी मनुष्य गणका मित्र हुन् ।
यक्षको एउटा अर्थ ‘ब्रह्म ‘पनि हो । रामायणमा पनि ब्रह्म शब्द यक्षको अर्थमा प्रयुक्त छ । महाभारतमा यक्षहरुको नगरलाई ‘ब्रह्मपुर ‘भनिएको पाइन्छ । यक्षलाई राजा र यक्षेश्वर (कुबेर) लाई ‘राजराज ‘पनि भनिन्थ्यो । गृह्यसूत्रहरुमा पनि महाराज वा वैश्रवणको पूजाको उल्लेख छ । यहाँ पनि महाराज यक्ष नै हुन् अथवा यक्षाधिपति कुबेर ।
हिन्दु परम्परामा सबैभन्दा प्रसिद्ध यक्ष कुबेर र उनकी पत्नी हारती हुन् । स्वयम्भू पुराण अनुसार भगवान बुद्धसँगै हारती स्वयम्भूमा आएकी थिइन् । यद्यपि ऐतिहासिक स्रोतले यस तथ्यलाई पुष्टि गर्दैन । पाणिनिले शेवल, सुपरि, विशाल, वरुण र अर्यमा नामका प्रमुख पाँच यक्षहरुलाई उल्लेख गरेका छन् । अर्यमा यक्ष बच्चाहरुको जन्मसँग सम्बन्धित छन् ।
वैदिक कालमा पुरोहितले यक्षलाई पूजा गर्नका लागि यज्ञ गर्थे । नेपाल उपत्यकामा यक्ष यक्षणीलाई पुज्ने प्रथा छ । अद्यापि यहाँ लक्ष्मी पूजामा कुबेरलाई पनि पुज्ने परम्परा छ । त्यस सँगै हारतीको रुपमा नयाँ कुचोलाई पनि सँगै पूजा गर्ने प्रचलन रहेको छ। यसबाट नेपाल उपत्यकामा यक्ष परम्परा व्यापक थियो भन्ने वुझिन्छ । बनेपामा पनि नेपाल उपत्यकामा जस्तै कुबेर र हारतीलाई पूजा गर्ने प्रचलन छ । नेपाल महात्म्य अनुसार बनेपाको धनेश्वर महादेव यक्षाधिपति कुबेरले स्थापना गरेका थिए।
बौद्ध परम्परा अनुसार हारती सुरुमा बालभक्षिणी थिइन् । बुद्धको उपदेश पछि उनी बालसंरक्षिकाका रुपमा पूज्य भइन् । यिनको अर्को नाम शीतलादेवी पनि हो । शीतलादेवीलाई विफरको देवता भनिन्छ । चण्डेश्वरी मन्दिर भित्र पूर्वाभिमुख शीतलादेवी विराजमान छन् । हारतीका प्राचीन मूर्तिहरु गान्धारमा छन् । गान्धारकलामा यिनलाई आमाको रुपमा र वरिपरि बच्चाहरु लिएर वसेकी देवीका रुपमा देखाइएको छ ।
नेपालमा बालाजु, पाटनको क्वबहाल र चपाटोलमा हारतीका मूर्तिहरु छन् । हारती, अजिमा वा शीतलाका रुपमा पूजा गरिएका थुप्रै मूर्तिहरु यहाँ पाइएका छन् । तर यी सबै मूर्तिहरु हारती होइनन्।
शैव परम्परामा अष्ट यक्षणीहरुको उल्लेख छ । अष्ट यक्षणी यी हुन्– १) सुर सुन्दरी २) मनोहारिणी ३) कनकावती ४) कामेश्वरी ५) रतिप्रिया ६) पद्मिनी ७) नटी र ८) अनुरागिणी । यी यक्षणीहरुको साधना गरेमा मानिसहरुका विभिन्न मनोकामनाहरु पूरा हुन्छ भनिन्छ । जस्तो– कामेश्वरी यक्षणीले सदैव चन्चल रही साधकलाई पौरुषत्व प्रदान गर्दछिन् । यिनले पत्नी सुखको कामना गर्नेलाई पूर्ण पत्निवत रुपमा उपस्थित भएर साधकको इच्छापूर्ण गर्दछिन् । बनेपा वकुटोलको यस यक्षणीको विषयमा छुन नहुने नभएका महिलाहरुले विहान सखारै एकान्तमा यस यक्षणीलाई अंगालो हालेमा (यो पनि एक साधना नै हो – लेखक) पत्नी सुख प्राप्त भई छुन नहुने हुने भन्ने विश्वास छ । अतः यिनी अष्ट यक्षणीहरु मध्यका कामेश्वरी यक्षणी हुन् भनेर भन्न सकिन्छ ।
शैव परम्परा अनुसार अन्य ३६ यक्षणीहरु शिवका दासिनी हुन् । उद्धामरेश्वर तन्त्रमा यी यक्षणीहरु वारे उल्लेख छ ।

यक्षणी वा तारा?
अब यस मूर्तिलाई अर्को कोणवाट परीक्षण गरेर यस मूर्ति ताराको हो वा होइन भनेर निरुपण गरिएको छ ।

दश महाविद्याः
शैव र बौद्ध दुबै परम्परामा तारा छन् । पहिला शैव परम्पराको आधारमा यस वारे अध्ययन गरिएको छ । यसमा दश महाविद्या छन् । दश महाविद्या अर्थात महान विद्या रुपी देवी । यी आदि शक्ति माता पार्वतीकै स्वरुपा हुन् । यस अनुसार निम्न दश महाविद्या हुन् – काली, तारा, छिन्नमस्ता, षोडशी, भुवनेश्वरी, त्रिपुरभैरवी, धूमावती, बगलामुखी, मातंगी र कमला । यी दश महाविद्या शक्तिका स्वरुपहरु हुन् । यसलाई प्रकृति पनि भनिन्छ । प्रकृति र पुरुषको संयोजनले चराचर सबै जगतको श्रृष्टि हुन्छ । प्रकृति शक्ति र पार्वतीको स्वरुप हुन् भने पुरुष शिव हो । पार्वतीको शक्ति स्वरुपा दश महाविद्या देवी हुन् । दश देवी मध्य धूमावती वाहेक नौ देवीका नौ पुरुष क्रमश ः यी हुन्– महाकाल, अक्षोभ्य, कामेश्वर, त्रयम्बक, दक्षिणा मूर्ति, क्रोध भैरव, मृत्युंजय र मातंग । यी सबै शिवका रुप हुन् । धूमावती विधवा रुपिणी हुन् अतः उनको पुरुष शिव रुप छैनन् । दश महाविद्यामा प्रमुख काली र उनको पुरुष महाकाल हुन् । त्यस पछि तारा हुन् । ताराका पुरुष अक्षोभ्य हुन् । यी अक्षोभ्य ध्यानी पन्चबुद्ध मध्यका एक नभई शिवका एक रुप हुन् । यसप्रकार यिनी रुद्रावतार वा भैरव पनि हुन् । यिनलाई तारकेश्वर पनि भनिन्छ । यिनको स्वरुप तारा जस्तै पीताम्बर अर्थात् निलो मिश्रित पहेंलो हो ।
यी नील वर्णा सिद्धिविद्या तारा हुन् । सबैभन्दा पहिले यिनको आराधना महर्षि वशिष्ठले गरेका थिए । यिनी तान्त्रिकहरुका मुख्य देवी हुन् । देवीको यस रुपलाई आराधना गरेमा आर्थिक उन्नति र मोक्ष प्राप्ति हुन्छ । दूखहरुलाई निराकरण गर्ने वा तार्ने माता भएकाले यिनी तारा हुन् ।
दश महाविद्या श्रीकुल र कालीकुलमा विभाजित छन् । माता तारा श्रीकाली कुलका हुन् ।
ताराका पनि तीन स्वरुप छन् – उग्र, सौम्य र उग्र–सौम्य । उग्र तारा, महाउग्र तारा, नीलसरस्वती, भद्रकाली, एकजटा र चामुण्डा यी तीन स्वरुपहरुमा विभाजित छन् । यसप्रकार एकजटा शैव परम्पराको दशमहाविद्या अन्तर्गतका ताराकै एक स्वरुप हुन् ।
बनेपाका संरक्षिका चण्डेश्वरीलाई एकजटा तारा पनि भनिन्छ । यसवाट चण्डेश्वरी दशमहाविद्यामा पर्दछन् भन्ने देखिन्छ । दशमहाविद्या अन्तर्गतका यी एकजटा ताराको तीनवटा आँखा छन् । चण्डेश्वरीलाई अष्टमातृका अन्तर्गतको कुमारी पनि भनिन्छ । यस वारे थप अध्ययन गर्नु पर्ने छ ।
बनेपाका शक्तिशाली भारदार जयसिंहराम वद्र्धन जयस्थिति मल्लका महामात्य हुन् । लिच्छवि, वर्मा र वद्र्धनहरु वैस क्षेत्रिय हुन् । यी वैंशहरुका कुलदेवी चण्डिका र इष्टदेव महादेव हो । ने.सं. ५०२ को काठमाण्डौ इटुंबहालको अभिलेखमा मदनराम वद्र्धनलाई ‘एकजटा चरण सेवक ‘भनेर उल्लेख गरिएको पाइन्छ । यसप्रकार वद्र्धनहरुले आफूलाई कुलदेवी चण्डेश्वरीका चरण सेवकका रुपमा उल्लेख गरेको स्पष्ट हुन्छ । त्यस्तै बौद्ध धर्मको बज्रयानमा एकजटा तारालाई तान्त्रिक देवताका रुपमा एक जटा, एक स्तन, एक आँखा र एक दन्त भएको डरलाग्दो देवताको रुपमा उल्लेख गरिएको छ । त्यहाँ यसलाई नीलतारा पनि भनिन्छ । बनेपाका चण्डेश्वरीलाई भने जगतकेशरी विरचित चण्डेश्वरी स्तोत्रमा डरलाग्दो नभई करुणामयको रुपमा प्रस्तुत गरिएको पाइन्छ ।

बौद्ध तारा !
महायान अन्तर्गत तिब्बतको बौद्ध धर्ममा तारा स्त्री वोधिसत्व हुन् । तिब्बती भाषामा यसलाई डोल्मा भनिन्छ । बज्रयान बुद्धधर्ममा यी स्त्री रुपका बुद्ध हुन्। यिनी ‘निर्वाणका जननी ‘का रुपमा मान्य छन्। यिनलाई सफलताका द्योतक मानिन्छ।
बज्रयानमा विभिन्न २१ वटा रंगका तारा छन् । यी मध्य हरित तारा मुख्य हुन् । हरित तारा लोकप्रिय देवी हुन् । हरित ताराका दुई वटा हात मध्य बायाँ हात अभय मुद्रामा र दायाँ हातमा वरद मुद्रामा हुन्छ। उनले हातमा नील कमल लिएकी हुन्छिन् । उनको बायाँ पाउ सुखासनमा र दायाँ पाउ फैलाइएको हुन्छ।
अवलोकेतेश्वर जस्तै हरित ताराको आत्मिक जन्म पनि अमिताभ बुद्धको ह्रदयवाट भएको विश्वास गरिन्छ । हरित तारालाई लक्ष्मीको रुप मानिन्छ । यिनको जप गरेमा धन सम्पत्ति प्राप्त हुन्छ भन्ने विश्वास छ । यिनीसँग इच्छा पुरा गर्ने शक्ति छ । यिनको पूजा आजा गरेमा गर्भ नरहेकाले गर्भधारण गर्दछन् भन्ने विश्वास छ ।
बनेपा वकुटोलको नारी मूर्ति र हरित ताराको मूर्तिलाई तुलना गर्दा यी मूर्तिहरुको भावभंगिमा, स्थिति र मुद्रा समान नरही फरक फरक छन् । वकुटोलको मूर्ति समभंग स्थितिमा खडा छ भने हरित तारा मूर्तिको बायाँ पाउ सुखासनमा र दायाँ पाउ फैलाइएको अवस्थामा छन् । वकुटोलको मूर्तिको वायाँ हात अभय मुद्रामा रही दायाँ हात तलसम्म पसारी कुनै लोटा जस्तो पात्र लिइरहेको देखिन्छ । तर हरित ताराको वायाँ हात अभय मुद्रा र दायाँ हात वरद मुद्रा हुन्छ । उनले हातमा निलो कमल पनि लिइरहेकी हुन्छिन् ।
मोहनप्रसाद खनालले वकुटोलको यस यक्षणीको मूर्तिको कला र ढुंगाको स्वरुपलाई सुक्ष्म परीक्षण गरेर यस मूर्तिलाई इशाको तेस्रो शताब्दीको भनेका छन् । यसप्रकार यस मूर्ति करिव १८०० वर्ष पुरानो भएको देखिन्छ ।
संसारको सबैभन्दा पुरानो बौद्ध तारा इशाको सातौं–आठौं शताब्दीको श्रीलंकाको हो । यो मूर्ति सुन लगाइएको कांस्य ९न्ष्ति दचयलशभ० को हो । यस ताराको मूर्ति अहिले ब्रिटिश म्युजियमा राखिएको छ। नेपाल उपत्यकामा पाइएका बुद्ध र वोधिसत्वका मूर्तिहरुमा सबैभन्दा पुरानो चाँगुमा प्राप्त बुद्धको मूर्ति हो, जुन खनालको विचारमा इशाको पाँचौ शताब्दी ताकाको मात्रै हो । शिरविहिन यस मूर्तिको एउटा हात र दुईवटा गोडा हाल सावुत अवस्थामा छैनन् । नेपालमा बौद्ध वज्रयान धर्मले अंशुवर्माको शासनको अन्तिम समयतिर इसाको सातौं शताब्दीमा मात्र प्रवेश गरेको हो । अंशुवर्माको गोकर्णेश्वर महादेवस्थान नजिक प्राप्त अभिलेख ज्यादै खिइएको हँुदा सबै विवरण सम्भव नभए पनि त्यसमा ‘वज्रयान‘शब्द परेकोले त्यसवेला नेपालमा वज्रयानले प्रवेश गरेको मान्न सकिन्छ । यी प्रामाणिक तथ्यहरु अनुसार पनि वकुटोलको नारी मूर्ति इसाको तेस्रो शताब्दीको भएकोले बौद्ध धर्मसँग सम्बन्धित मूर्ति हुन नसक्ने स्पष्ट छ ।

उपसंहारः
यस बनेपा वकुटोलको नारीको मूर्ति यक्षणीको मूर्ति भएको र यो मूर्ति इसाको तेस्रो शताब्दीताकाको भएको निरुपण गरिएको छ । यसप्रकार यस मूर्ति १८०० वर्ष पुरानो भएको स्पष्ट हुन्छ । यसवाट १८०० वर्ष पहिले नै बनेपा क्षेत्रमा मानव वस्ति विकास भई यक्षहरुको सभ्यता र संस्कृतिको प्रभाव परेको देखिन्छ। हिमवत्खण्ड र नेपालमहात्म्य अनुसार यक्षाधिपतिले धनेश्वर महादेवको शिवलिंग स्थापना गरेका थिए । यसभन्दा अगाडि यस क्षेत्रमा विकटेश्वर, उग्रेश्वर र चण्डेश्वरका शिवलिंगहरु स्थापना भइसकेका थिए भने धनेश्वर शिवलिंग स्थापना भइसके पछि गोखुरेश्वर, इन्द्रेश्वर र आशापुरेश्वर शिवलिंगहरु क्रमश ः स्थापना गरिएका थिए । यसप्रकार यी सबै शिवलिंगहरु एउटै युगमा स्थापना गरिएको थियो । त्यस्तै धनेश्वरको शिवलिंग स्थापना गर्ने शिवका परमभक्त यक्षाधिपतिको यस क्षेत्रमा राम्रो प्रभाव रहेको यस यक्षणीको मूर्ति र चण्डेश्वरी मन्दिरभित्र रहेको शितलामाजु भनिने हारतीमाताको मूर्तिले पनि पुष्टि गर्छ । साथै १८०० वर्ष अगाडि यहाँ देखिएको यक्ष प्रभावको झझल्को अझैं देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *