यस वर्ष जनवरी १ मा विगतमा जस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडानम्बर ९ स्थित गुफाडाँडामा छैटौं जलवायु सम्मेलन सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्मेलनको उद्घाटन गरेका थिए । पहिलो जलवायु सम्मेलन ०७५ सालमा भएको थियो । तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले यसको उद्घाटन गरेकी थिइन् । त्यसयता यहाँ हरेक वर्ष यस्ता सम्मेलन भइरहेका छन् । तर यसको उपलब्धी के भयो भन्ने बारेमा भने खासै चासो देखाइएको पाइँदैन ।
यसवर्षको सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले देशमा गरिखानेको दिन सुरु भएको बताए । उनले ठगी खाने र मागी खानेको जमाना गएकाले अब हरेक जनता आत्मनिर्भर बनाउने गरि प्रदेश र स्थानीय तहले काम गरिरहेकोसमेत बताएका थिए ।
विकासलाई ब्यवस्थित गरेर लैजाने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता थियो । उनले जनमुखी, आयमुखी र गाउँमुखी विकास अहिलेको आवश्यकता हो भन्दै स्थानीय र प्रदेश सरकार मिलेर जाने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री बानियाँले मेलम्ची गुफाडाँडा ओखरेनीसम्मको सडक निर्माणको जिम्मेवारी लिँदै गुफाडाँडालाई पर्यटकीय केन्द्र बनाउने बताए ।
कार्यक्रममा पूर्वमन्त्री एवम् एमाले नेता शेरबहादुर तामाङले जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय समुदायले दिने बजेट नदिएको भन्दै गुफाडाँडालाई जलवायु सम्मेलन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए । सरकारले अन्तर्राष्ट्रिय समुदायलाई बजेट माग गरेर कार्ययोजनासमेत बनाउन नसकेको प्रति आपत्ति जनाउँदै जलवायु परिवर्तनका बारेमा कुरा गर्दै बिदेश जानेहरुले अहिलेसम्म के गरे भन्ने प्रश्न गरे ।
त्यस्तै बागमती प्रदेशका कानुनमन्त्री शिवराज अधिकारीले जलवायु परिवर्तनको असर र त्यसबाट हुने क्षति न्युनिकरणका लागि तीनै तहका सरकार सहकार्य गरेर अघि बढ्दै विकशित राष्ट्रसँग यसको क्षतिपूर्ति दाबी गर्नुपर्ने बताए ।
कार्यक्रमका सभापति मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलवायु पार्क र मेलम्चीदेखि ज्यामिरे गुफाडाँडा, ओखरेनी सडक निर्माणको जिम्मेवारी प्रदेशका मुख्यमन्त्रीले लिएको भन्दै गुफालाई पर्यटकीय हिसाबले निर्माण गर्ने कुरामा मेलम्ची मात्रै नभई छिमेकी पालिकासमेत लागिरहेको बताए ।
यसरी जलवायु सम्मेलनको बाहानामा नेताहरु जाने, एक दिन रमाइलो गर्ने र त्यसपछि फर्केर नजाने परिपाटी पनि देखिन्छ । जसले गर्दा सम्मेलनका लागि भन्दै राज्यको रकमको दुरुपयोग मात्र भइरहेको अवस्थामा नागरिकहरु भने यस्ता सम्मेलन मात्र गरेर जलवायु परिवर्तन रोक्न नसकिने बताइरहेका थिए । त्यसैले सम्मेलन नै गर्नु नराम्रो भन्न खोजेको होइन, यसले दिने नतिजा राम्रो हुनु पर्छ भन्ने आशय हो । यसका लागि आयोजकहरुले विशेष ध्यान दिनुपर्नेमा सरोकारवालाहरुको जोड छ । जबकी आगामी दिनहरुमा उनीहरुले ठोस कार्यक्रम अघि सार्नेतिर ध्यान दिन सकुन् ।
