सिन्धुपाल्चोक । कुबिन्डेमा भएको प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई २६–२४, २५–१२ र २५–२३ को सोझो सेटको जित निकाल्दै मेलम्चीले उपाधी जितेको हो ।
विजेता मेलम्चीले नगद एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र जितेको छ भने द्वितीय स्थान हासिल गरेको जुगलले नगद ७५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै शनिबार तेश्रो स्थानको लागि भएको खेलमा हेलम्बु गाउँपालिकाविरुद्ध रोमाञ्चक जित निकाल्दै तेश्रो स्थानमा चित्त बुझाएको बलेफी गाउँपालिकाले नगद ५० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना स्थानमा चित्त बुझाएको हेलम्बुले भने नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजेताहरुलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का पूर्वसांसद माधव सापकोटा सुबोध, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा लगायतले पुरस्कार वितरण गर्नुभएको हो । प्रतियोगिताको म्यान अफ द म्याच मेलम्चीका जर्सी नम्बर ४ का खेलाडी आकाश तामाङ घोषित हुनुभयो ।
