बनेपा । बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ ।

पहिलो चरणमा शुक्रबार जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यस्तै बाँकी कार्यक्रम क्रमशः सम्पन्न गरिने विद्यालयकी प्रिन्सिपल इन्दु थापाले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी गौतमले विद्यालयलाई सफलताको शुभकामना दिँदै विद्यालयले बालबालिकाहरुको क्षमता पहिचान गर्दै उनीहरुलाई अब्बल बनाउनुपर्ने बताउनुभयो । ‘हरेक व्यक्तिमा केही न केही क्षमता हुन्छ तर ती लुकेका हुन्छन् ।’ उहाँले भन्नुभयो, ‘ती प्रतिभाहरुलाई समयमै पहिचान गर्न सकिएन भने उनीहरुबाट अभिभावक र देशलाई नै ठूलो घाटा हुन्छ, त्यसैले विद्यालयले विद्यार्थीहरुका क्षमता र प्रतिभा प्रस्फुटित गराउन सक्रिय हुनुपर्छ । बेलर इन्टरनेशनलले यसमा आफूलाई प्रमाणित गरोस् ।’ उहाँले विद्यार्थीको भविष्यप्रति अभिभावकलाई चिन्ता हुनु स्वभाविक भएकाले यसमा विद्यालयले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपानेले विद्यार्थीका लागि घर नै पहिलो विद्यालय भएकाले पहिले उनीहरुलाई घरबाटै संस्कार सिकाउनु पर्ने र पछि विद्यालयले उनीहरुलाई सहि मार्ग प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले बेलर एकेडेमीले त्यसलाई आत्मसाथ गरेको र आगामी दिनमा विद्यालयको थप प्रगतिको कामना गर्नुभयो । विद्यार्थीलाई जीवनोपयोगी शिक्षा प्रदान गर्नुपर्नेमा उहाँको जोड थियो ।

करिब डेढदशक पहिलेदेखि संचालनमा रहेको यस विद्यालयमा हाल करिब ३ हजार ५०० विद्यार्थी अध्ययनरत छन् । पछिल्ला दिनहरुमा विद्यालयले आफूलाई प्रविधिमा आधारित बनाउँदै लगेको विद्यालयका अध्यक्ष भोला थापाले जानकारी दिनुभयो । कार्यक्रम अध्यक्ष थापाकै अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *