• जगन्नाथ दुलाल

काठमाडौं । २०४८ सालयताको संसदीय राजनीतिक प्रतिस्पर्धामा बलशाली रहँदै आएका कांग्रेस र एमाले यसपटक इतिहासकै कमजोर अवस्थामा पुगेका छन् । अघिल्लो संसद्मा करिब दुई तिहाइ नजिक रहेका यी दल यसपटक संख्यात्मक रुपमा नाम मात्रैको प्रतिपक्षी बन्ने तहमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै दुई तिहाइ मत ल्याउने देखिँदा कांग्रेस र एमाले मिल्दा पनि सरकारलाई चुनौती दिनसक्ने हैसियतमा हुने छैनन् ।

१ सय ६५ सिटमध्ये रास्वपाले एक्लै १ सय २५ सिट जित्यो । कांग्रेस १८ र एमालेले ९ सिटमात्रै जिते । समानुपातिकतर्फ रास्वपाले एक्लै करिब ५० प्रतिशत मत ल्याइरहँदा कांग्रेसले १६ र रास्वपाले १४ प्रतिशत मत मात्रै पाएका छन् । ११० सिट समानुपातिकमा रास्वपाले ५७, कांग्रेसले २० र एमालेले १६ सिट संख्या पाए ।

कांग्रेस– एमालेका सबै पदाधिकारी जनमतमा अस्वीकृत
प्रतिनिधिसभा निर्वाचनमा अघिल्लो संसदमा पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमालेका सबै पदाधिकारी पराजित भएका छन् । आफ्नो पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा समेत अघि सारिएका कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओली नै पराजित भए । उनीहरु नेतृत्वको समितिका पदाधिकारी पनि निर्वाचित हुन सकेनन् । बरु ती पार्टीका नयाँ अनुहार भने थोरै संख्यामा निर्वाचित भएका छन् ।

कांग्रेसबाट सभापति थापासहित ८ जना पदाधिकारीहरू उम्मेदवार थिए । मधेश प्रदेशको सर्लाही–४ बाट उम्मेदवार रहेका थापा करिब १२ हजार मतको फराकिलो अन्तरले पराजित भए । उनलाई रास्वपाका उम्मेदवार डा. अमरेशकुमार सिंहले जिते । काठमाडौं–४ मा तीन पटक जितेका थापाको क्षेत्र परिवर्तन उनका लागि अनुकूल परिणाम दिन साबित भएन ।

कांग्रेस महामन्त्रीहरू प्रदीप पौडेल र गुरूराज घिमिरे पनि पराजित भए । पौडेल काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल र घिमिरे मोरङ–४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशीसँग फराकिलो मतान्तरले पराजित भए । पौडेल ०७९ मा यही क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसका उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने उम्मेदवार थिएनन् ।

कांग्रेसका ७ मध्ये चुनावी प्रतिस्पर्धामा रहेका ५ जना सहमहामन्त्रीहरू पनि पराजित भए । सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा छन् । सहमहामन्त्री मन्सुर बारा–३ मा, राणा ललितपुर–१ मा, रसाइली बझाङमा, चौधरी दाङ–१ मा र बुढा डोल्पामा पराजित भए । स्नेही एमाले उम्मेदवारसँग, बुढा नेकपाका धनबहादुर बुढासँग पराजय बेहोरे भने अरु सहमहामन्त्री रास्वपाका उम्मेदवारसँग पराजित भए । सहमहामन्त्री बहादुर सिंह लामा र डिला संग्रौला भने उम्मेदवार थिएनन् । लामा बागमती प्रदेशसभामा सदस्य छन् ।

एमालेका ११ पदाधिकारी पराजित
यसपटकको निर्वाचनमा पुरै रक्षात्मक बन्न पुग्यो एमाले । एमाले अध्यक्ष ओलीसहित १० पदाधिकारी पराजित भए । एमालेका १९ पदाधिकारीमध्ये अध्यक्ष ओलीसहित ११ जना पदाधिकारी उम्मेदवार थिए । एमालेबाट भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका अध्यक्ष ओली झापा–५ मा पराजित भए । उनी रास्वपाका उम्मेदवार बालेन शाहसँग पराजित हुँदा उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही–२, पृथ्वीसुब्बा गुरुङ लमजुङ र गोकर्ण विष्ट गुल्मी–२ मा पराजित भए ।

त्यस्तै महासचिव शंकर पोखरेल दाङ–२, उपमहासचिवहरू रघुवीर महासेठ– धनुषा–४ र लेखराज भट्ट कैलाली–४ बाट पराजित भए । सचिव महेश बस्नेत भक्तपुर–२, शेरधन राई भोजपुर, राजन भट्टराई काठमाडौं–४ र भानुभक्त ढकाल तेह्रथुमबाट निर्वाचन लडेका थिए । उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव पद्मा अर्याल समानुपातिक सूचीमा परेका छन् ।

कांग्रेस–एमालेका नयाँ अनुहार निर्वाचित
प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जितेको छ । यसरी जित्नेमा बहुसंख्यक नयाँ अनुहार छन् । कोशीमा ३, मधेश र बागमतीमा १/१, गण्डकी र लुम्बिनीमा २/२, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ स्थानमा जितेको छ । कोशीमा नरेन्द्रकुमार केरूङ -पाँचथर), सन्तोष सुब्बा -तेह्रथुम) र प्रकाशसिंह कार्की -सोलुखुम्बु) निर्वाचित भए भने गण्डकी प्रदेशबाट टेकबहादुर गुरूङ -मनाङ) र योगेश गौचन थकाली -मुस्ताङ) तथा लुम्बिनी प्रदेशबाट सन्दीप राना -पाल्पा–१) र अभिषेकप्रताप शाह -कपिलवस्तु–३) निर्वाचित भए ।

कर्णाली प्रदेशमा कांग्रेसबाट चुनाव जित्नेमा बासना थापा -दैलेख–१), खड्ग शाही -मुगु), विष्णुबहादुर खड्का -सुर्खेत–१), जयपती रोकाया -हुम्ला) र खडकबहादुर बुढा -जाजरकोट) छन् । सुदूरपश्चिम प्रदेशका १६ मध्ये कांग्रेसका डोटीमा भरतबहादुर खड्का, अछाम–१ मा भरतकुमार स्वार र बाजुरामा जनकराज गिरी निर्वाचित भए । मधेश प्रदेशका ३२ सिटमध्ये रौतहट–२ बाट फिरदोश आलम र बागमती प्रदेशका ३३ सिटमध्ये रसुवाबाट मोहन आचार्य मात्रै निर्वाचित भए ।

३४ वर्षमा अनपेक्षित हार
०४८ यताका निर्वाचनमा कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेको छ । ०७९ मा ८९ सिटसहितको पहिलो दल रहेको कांग्रेस यसपटक इतिहासकै कमजोर हैसियतमा पुगेको छ । १६५ क्षेत्रमध्ये जम्मा १८ सिटमा मात्रै कांग्रेसले जितेको छ भने समानुपातिकतर्फ पनि अघिल्लो पटकको भन्दा कम सिट आएको छ । प्रजातन्त्रको पुनःस्थापनायता नेपालमा ७ वटा निर्वाचन भएका छन् । ती निर्वाचनमा मुख्यगरि कांग्रेस र एमालेकै वरिपरि घुमेको देखिन्छ ।

०४८ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले ११० सिटसहित स्पष्ट बहुमत ल्याएर सरकार बनाएको थियो । ६९ सिट जितेको एमाले मुख्य प्रतिपक्ष बनेको थियो । तर, ०५१ को मध्यावधि निर्वाचनमा एमाले ८८ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बन्यो । पुनः २०५६ को निर्वाचनमा कांग्रेसले पुनरागमन गर्दै १११ सिटसहित स्पष्ट बहुमत प्राप्त ग¥यो । यो अवधिमा यी दुई दलबीचको प्रतिस्पर्धा नै नेपाली राजनीतिको मुख्य केन्द्रबिन्दु रह्यो ।

०६४ को पहिलो संविधान सभा निर्वाचनमा माओवादीको उदयसँगै कांग्रेस र एमाले क्रमशः दोस्रो र तेस्रो स्थानमा खुम्चिए । त्यतिबेला कांग्रेसले ११५ र एमालेले १०८ सिट प्राप्त गरेका थिए । तर, २०७० को दोस्रो संविधान सभामा कांग्रेसले १९६ र एमालेले १७५ सिट जित्दै पुनः आफ्नो विरासत फर्काउन सफल भए ।

०७४ को निर्वाचनमा वाम गठबन्धन -एमाले र माओवादी) का कारण एमालेले अहिलेसम्मकै धेरै १२१ सिट जितेर शक्तिशाली शक्ति बन्यो । कांग्रेस ६३ सिटमा सीमित भयो । तर, पछिल्लो ०७९ को निर्वाचनमा भने कांग्रेस ८९ सिटसहित पुनः पहिलो दल बन्यो भने एमाले ७८ सिटमा झर्दै दोस्रो दल बन्यो ।

यसपटक कांग्रेस र एमाले दुवै दल पहिलो दलभन्दा धेरै कमजोर हैसियतमा दोस्रो र तेस्रो दल बनेका छन् । १६५ सदस्य संसदमा कांग्रेसबाट १८ र एमालेबाट ९ जना मात्रै निर्वाचित भएका छन् ।

०७९ मा समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै मत पाएको थियो । एमालेले २८ लाख ४५ हजार ६४१ -२६.९५ प्रतिशत) र कांग्रेसले २७ लाख १५ हजार २२५ -२५.७१ प्रतिशत) मत पाएका थिए । समानुपातिकतर्फबाट एमालेले ३४ र कांग्रेसले ३२ सिट जितेका थिए ।

अब ६ दल मात्रै राष्ट्रिय दल
२ सय ७५ सदस्यीय संसदमा प्रत्यक्षतर्फ मात्रै रास्वपाले करिब दुई तिहाइ सिट जित्दा प्रतिनिधिसभामा ६ वा मात्रै दल हुने भएका छन् । रास्वपा, कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा र श्रम संस्कृति पार्टी आउने संसदमा हुनेछन् । राष्ट्रिय पार्टी हुनका लागि कम्तीमा एक जना प्रत्यक्ष जितेर समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ । प्रत्यक्षतर्फ सिट जित्ने यिनै ६ दलले मात्रै समानुपातिकतर्फबाट प्राप्त मतका आधारमा थप सिट पाएका छन् ।

मधेस केन्द्रित दल संसदमा शून्य
मधेस आन्दोलनपछि उदाएका मधेस केन्द्रित दल ०७०, ०७४ र ०७९ को संसदमा बलियो शक्तिका रुपमा उपस्थित थिए । मधेसमा उनीहरुको बलियो उपस्थिती थियो । ०७९ मा मधेस केन्द्रित दल जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ४, नेपाल समाजवादी पार्टी एक सिट जित्दै संसदमा थिए । कुल २७ मध्ये उनीहरुले १६ सिटमा प्रत्यक्षतर्फ जितेका थिए ।

यसपटक भने मधेस केन्द्रित दलको उपस्थिती संसदमा शून्य भएको छ । यसपटक मधेस केन्द्रित दलका चुनाव जित्दै आएका अध्यक्षहरु पराजित भए । जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु साह पराजित भए । मधेसमा ३२ सिट मध्ये ३० सिटमा रास्वपाले जित्दा एक सिटमा कांग्रेसले जितेको छ । अघिल्लो संसदमा मधेस केन्द्रीत ५ दलका २७ सांसद थिए ।न्यूज २४ दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *