हरेक वर्ष सबैजसो सिजनमा किसानले उत्पादन गरेका कृषि उपजहरुको उचित बजार भाउ नपाउँदा किसानहरुको लगानी पनि नउठ्ने समस्या नौलो होइन । यस वर्ष पनि त्यस्तै भएको छ । यो सिजन आलु उत्पादनको सिजन हो । यतिबेला किसानका खेतका गह्राभरि राता बोरा ठडिएका छन् ।
घाम चर्किएको छ, किसानहरु धमाधम आलु खनिरहेका छन् । मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १० स्थित ज्वानेटार फाँटमा विगत १० वर्षदेखि व्यवसायिकरुपमा आलु लगायतका तरकारी खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । यो सिजनमा यहाँ २०० रोपनी जग्गामा आलु रोपिएको छ । गत वर्ष निकै राम्रो भाउ पाएको यहाँका आलुले यो वर्ष त्यति भाउ पाएनन् ।
स्थानीय किसान नारायण श्रेष्ठले करिब १२ रोपनी जमिनमा आलु रोप्न थालेको ५ वर्ष भयो । जग्गा अधियाँमा लिएर उनले यहाँ आलु रोप्न थालेका हुन् । गत वर्ष त्यही जग्गामा ६० बोरा जति आलु उत्पादन भएको थियो । तर यो वर्ष भने १२० बोराभन्दा बढी फल्यो । गत वर्ष प्रतिकेजी ३० रुपैयाँसम्म बेच्न पाइएको थियो तर अहिले १८ देखि २० रुपैंयाँसम्म भाउ छ । तैपनि डेढ लाखसम्मको आलु बेच्न पाइने झिनो आशा छ उनको ।
…भाउ राम्रो भएको भए दुई लाख आम्दानी लिन सकिन्थ्यो ।Ú नारायण भन्छन्, …सिजनको बेलामा भारतबाट आलु, प्याजलगायतका तरकारी धेरै नै आयात हुन्छ । त्यसैले स्वदेशी उत्पादनले राम्रो भाउ पाउँदैन ।Ú यस्तो आयात रोक्न सके स्वदेशी तरकारीको उचित भाउ आउने उनको भनाइ छ । यो वर्ष उनले आलु रोप्नकै लागि १ लाख १५ हजार जति लगानी गरेका छन् । यहाँ केही वर्ष अघिसम्म परम्पपरागत बालीहरु गहुँ, तोरी रोपिन्थ्यो । जतिबेला उत्पादन निकै कम हुने जग्गामा अहिले आलु, काउली, बन्दा, मटरकोशा, काँक्रोलगायतका तरकारीहरु रोपिन्छ ।
श्रेष्ठ जस्तै ज्वानेटारकै ध्रुर्व भुजेलले पनि यो वर्ष ५ रोपनी जमिनमा आलु रोपेका छन् । उनको खेतमा पनि आलु राम्रै उत्पादन भएको छ । तर समस्या एउटै छ , भाउ नै छैन । …आलु रोप्न जमिन तयार पार्नेदेखि बीउ, मल, कामदार, विषादी सबैको हिसाब गर्ने हो भने यो सिजनमा ज्याला पनि उठ्दैन ।Ú भुजेल भन्छन्, …किसानको उत्पादन सरकारले खरिद गरिदिने हो भने स्वदेशी किसानले कहिले नि चिन्ता गर्नु पर्दैन । तर यी विषय त सपनाको जस्तै हुन् । समयमा रासायनिक मल, बीउ किनेर पाउन सके त हुन्थ्यो । अरु के आशा गर्नु र ?Ú स्थानीय सरकार भनिएका पालिकाहरुले पनि किसानका लागि खासै सहयोग गरेका छैनन् । पालिकाहरुले भने किसानका लागि धेरै कार्यक्रमहरु ल्याइरहेको दाबी गरिरहेका छन् ।
यतिबेला मण्डनदेउपुरका ज्वानेटार, जोगिटार, माइटार, कुन्तावेँसी तथा चाखोलाका हजारौं रोपनी खेतीयोग्य जमिनमा आलु खेती गरिएको छ । यहाँ वर्षेनी करोडौंको आलु उत्पादन हुन्छ तर उचित मूल्य पाइँदैन । न स्टोर गरेर राख्न किसानको पहुँच नै छ । त्यसैले किसानले समस्या भोग्नु परेको छ ।
जिल्ला कृषि विकास कार्यालय काभ्रेले दिएको तथ्यांक अनुसार काभ्रेमा हरेक वर्ष ९ हजार १६३ हेक्टरमा जमिनमा आलु खेती गरिन्छ । यहाँबाट वार्षिक १ लाख ८९ हजार ७८ मेट्रिक टन आलु उत्पादन हुन्छ । किसानहरुले आफूले उपभोग गरेर काठमाडौंको बजारमा जाने तरकारीको ३५ प्रतिशत हिस्सा काभ्रेबाटै पठाउँछन् ।
यसरी समस्यामा रहेका किसानका लागि अब बन्ने नयाँ सरकारले उचित स्थान दिएर किसानमुखी कार्यक्रम अघि सार्नु पर्ने देखिन्छ । जसले उनीहरुलाई देशमा सरकार छ भन्ने आभाष दिलाउन सकोस् ।
