श्रीखण्डपुर । पनौती नगरपालिका वडानम्बर ५ मा रहेको सेन्टलम एल्वम एकेडेमीले २० आंै बार्षिकोत्सव, अभिभावक दिवस तथा एसईई र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा बिदाई गरेको छ । गत शनिबार एन प्याब्सनका केन्द्रीय सचिव प्रकाशचन्द्र खड्काको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमन पोटेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एसईई २०७९, २०८० र २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मानका साथै मायाको चिनो प्रदान गरिएको थियो । कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सोही अवसरमा विदाईका साथै मायाको चिनो प्रदान गरियो । ती मध्ये उत्कृष्ट दुई–दुई विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै विद्यालयलाई विभिन्नरुपमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरेको थियो भने दीर्घसेवा शिक्षकबाट दुई जना शिक्षकहरु सम्मानित भएका थिए । साना विद्यार्थीहरुलाई विभिन्न उपाधीसमेत प्रदान गरिएको थियो भने विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रममार्फत प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल अग्नी ज्ञवालीले विद्यार्थीहरुलाई संस्कार, संस्कृति र परम्परासँग जोड्दै आधुनिक प्रविधिसँग अभ्यस्त गराउँदै गुणस्तरीय शिक्षा प्रदान गरिएको बताए । विद्यार्थीहरुले अध्ययनसँगै ब्यवहारिक ज्ञानमा जोड दिएको उनले बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमन पोटेले बदलिँदो परिस्थिती र परिवेश अनुसार विद्यार्थीहरुलाई सिक्ने, विक्ने र टिक्ने शिक्षा प्रदान गर्न विद्यालयका भौतिक संरचना, अतिरिक्त सामाग्री र शिक्षा तथा ब्यवहारिक ज्ञानमा जोड दिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी प्रकाशचन्द्र खड्काले सरकारले नीजि क्षेत्रका विद्यालयहरुलाई हेर्ने दृष्टिकोण नबदल्दासम्म शिक्षामा लगानी गर्ने ब्यक्तिहरुले जतिसुकै राज्यका लागि योगदान गरे पनि सम्मान हुन नसक्ने बताए । नीजि क्षेत्रबाट सञ्चालित विद्यालयहरुले प्रदान गरेको शिक्षाले राष्ट्रको समेत शान बढेको उनले बताए ।
