काभ्रे । पनौती नगरपालिकाको मुख्य वस्ती र बजार क्षेत्र रहेको वडा नं. ७ को नाम नै पनौती हो । अनेक विशेषता र महत्व रहेकाले पनौतीको स्थान उच्च छ । धार्मिक, सांस्कृतिक, पुरातात्विक, भौगोलिक आदिका कारणले पनौतीको महत्व प्राचीन कालदेखि रहँदै आएको छ । यस्तो महत्वपूर्ण नगर पनौतीमा वर्षभरि मनाइने महत्वपूर्ण चाडपर्वहरूलाई पुस्तकको रूपमा प्रकाशित भएको छ–पनौतीका केही जात्रापर्वको नाममा । यस्तो महत्वपूर्ण पुस्तकका सर्जक हुन् साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू ।
पनौतीमा हरेक महिना विभिन्न जात्रापर्व मनाइँदै आएको पाइन्छ । जेष्ठ पूर्णिमाको दिन हुने इन्द्रेश्वर महादेव, उन्मत्त भैरव तथा भद्रकाली र ब्रह्मायणीको जात्रा, माघ शुक्ल द्वादशीको दिन हुने मानेश्वरीको जात्रा,फागुन महिनाको होलिपूर्णेका दिन हुने संकटा जात्रा लगायतका विभिन्न समयमा हुने भीमसेन जात्रा, गणेश जात्रा, नारायणको जात्रा, बुद्ध जात्रा लगायत बाहिरबाट ल्याएर चलाउनुपर्ने नमोबुद्ध जात्रा, नवदुर्गा जात्रा, हरसिद्धि जात्राका साथै साँखु र भक्तपुरबाट श्रीस्वस्थानीको बर्तालु समेत आई त्रिवेणीघाटमा स्नान गर्ने पर्वहरू विशेष महत्व राख्ने धार्मिक पर्वहरू हुन् । यी जात्रापर्वहरूबारे पुस्तकमा राम्रोसँग वर्णन गरिएको देखिन्छ ।
त्यसैगरी दशैको घटस्थापनादेखि विजया दशमीसम्म एकाबिहानै उठेर नवरथ जाने परम्परा, स्वँतकी जात्रा, दाफा भजन, लाखे नाच, देवी नाच आदि परम्पराहरू चल्दै आएका छन् । त्यसैगरी होलीपुन्हि, क्वातिपुन्हि, सकिमनापुन्हि, गठामुग, गाईजात्रा, शिवरात्रि, धल्चा हालेगु, माध हालेगु आदि पनौतीका सांस्कृतिक सम्पदा नै हुन्। कतिपय जात्रापर्व लोप भएका छन्। क्वँ द्य जात्रा, खँ द्य जात्रा, टिप्वाँ जात्रा, जालु द्य जात्रा, क्वन्ना द्य जात्रा आदि लोप भएका केही जात्रापर्व हुन्। यी र यस्ता अनेकौ जात्रापर्वको गहन अध्ययन गरेर लेखिएको कुरा प्रस्तुत पुस्तकले देखाउँछ।
पुण्यमाता र रोसी खोलाको बिचको पनौतीको दक्षिणतर्फ उब्जाउपूर्ण फाँट छ। यस्तो स्थानमा हरेक बाह्र वर्षमा एक महिना माघ महिनाभर मकर मेला लाग्छ। उत्तरतर्फका सुन्दर हिमालको दृश्यपान गर्दै गौरीशंकरको दर्शन गर्ने चलनले प्रकृति र संस्कृति बिचको सम्बन्धको गहनतालाई दर्शाउँछ। पाटनबाट आएको तान्त्रिकले वासुकि नागको अपहरण गर्दा नागले बँचाउन हारगुहार गर्दा पनौतीका मान्छेहरूले नसुनेपछि यहाँका मान्छेका कसैको पनि अकुत सम्पत्ति नहोस् र खान भने पुगोस् भनी श्राप दिएको किंवदन्ती छ। यी र यस्ता किंवदन्ती बोकेका जात्रापर्वहरूबारे लेखकले गहन अध्ययन गरेर पुस्तक तयार पारेका छन्।
उल्लिखित सम्पूर्ण कुरा लगायत लावण्य देशको सन्दर्भले यो पुस्तकको महत्व अझ बढेको देखिन्छ। इतिहासविद्, संस्कृतिका मर्मज्ञ, विद्वान् हरिराम जोशीले पुस्तकको भूमिका लेख्ने क्रममा पनौती नै प्राचीन लावण्य देश हो जहाँ स्वस्थानी कथामा वर्णित गोमा ब्राह्मीनीका पुत्र नवराजलाई हात्तीले माला पहि¥याएर राजा बनाएको अर्थात् उनी नै गणराज्यको प्रथम राजा भएको अभिमत उक्त पुस्तकमा छ। यो कारणले पनि पनौतीका केही जात्रापर्व पुस्तकको महत्व बढेको देखिन्छ।
पुस्तकको भाषाशैली सरल र सरस रहेको छ। जात्रापर्वलाई लेखकले विज्ञानसँग पनि जोड्न खोजेको देखिन्छ। पुस्तकका जात्रापर्वको बयान मात्र छैन। त्यसलाई विश्लेषण गर्ने काम पनि लेखकले गरेका छन्। पनौतीका प्रत्येक मानिसले आफ्नो थातथलो र नगरको जानकारी राख्न पनि उक्त पुस्तक हरेकको घरमा हुनु आवश्यक छ। पनौतीको बारेमा बुझ्न इच्छुक जो कोहीले उक्त पुस्तक पढे यथेष्ट जानकारी पाउन सकिन्छ।
उक्त पुस्तक लेखेर लेखकले आफ्नो मातृभूमिप्रति अगाध श्रद्धा र स्नेह पोखेको देखिन्छ। यस्तो गहन पुस्तक प्रकाशनका लागि लेखक धन्यवादका पात्र हुन्। उनलाई अनेक बधाई ।
प्रस्तुती ः तुयुकाजी ताम्राकार
