ज्ञानमणि नेपाल कालोटोपी
इन्द्रावती, काभ्रे । काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सीमाना इन्द्रावती नदीमा रहेका पानीघट्टहरु अहिले विस्थापनको क्रममा पुगेका छन् । ती पानीघट्ट रहने बगरभरि यतिबेला क्रसर उद्योगहरुले ठाउँ ओगटेका छन् ।
कुनैबेला बगरैभरि घट्टै–घट्टहरु देखिने गरेको यहाँ आधुनिक मेशिनको बढ्दो प्रयोगले पानीघट्टहरु लोप भएका हुन् । …मेलम्चीदेखि दोलालघाटसम्म करिब ५० भन्दा बढी ठाउँमा रहेका घट्टहरु अहिले ५ ठाउँमा पनि छैनन् । बरु ती ठाउँमा २५ वटाभन्दा धेरै क्रसर मेशिनहरुले इन्द्रावतीको सौन्दर्य नै बिगारिरहेका छन् ।Ú इन्द्रावतीका घट्टहरुको कुरा गर्दा स्थानीय आँपचौरका रामकृष्ण माझी पुराना दिनहरु यसरी सम्झदै थिए ।
इन्द्रावतीबाट घट्टहरु लोप भएकोमा उनी ज्यादै चिन्तित छन् । नहुन् पनि किन..? नदीमा घट्ट चलाउनु, डुङ्गा खियाउनु, माछा मार्नु नदी आसपासका माझी तथा दनुवारहरुको पुख्र्यौली पेशा हो । उल्लेखित कुनै पनि पेशा अहिले उनीहरुका लागि सुरक्षित त भएनन् नै भावी पुस्ताका लागि पनि एकादेशका कथा जस्तो भएपछि उनी जस्ता सयौं नागरिक यतिबेला चिन्तित् छन् ।
जोगाउन प्रयास गर्दा पनि त्यो सम्भव भएन । आधुनिक मेशिनहरुको बढ्दो लोकप्रियतासँगै उनीहरुका घट्टहरु बगे इन्द्रावतीको पानी जस्तै गरि । नदीमा ठाउँ–ठाउँमा पुल बनेपछि डुङ्गा व्यवसाय पनि लोप भयो । माछा त खोलामा पाइनै छोडिसक्यो । घट्ट बनाउन प्रयोगमा आउने ढुङ्गाहरु पनि नपाइने भएकाले पनि यो पेशाको अस्तित्व हराउन थालेको व्यवसायीहरुको भनाई छ ।
पानीघट्टमा मकै, कोदो र गहुँ लगायतका अन्नहरुको पिसानी गरिन्थ्यो । पहिले–पहिले आधुनिक मेशिनहरुको प्रयोग थिएन । यिनै घट्टहरु प्रयोगमा आउँथें । करिब डेढ दशकदेखि गाउँहरुमा आधुनिक सुविधा सम्पन्न मेशिनहरु अत्याधिक मात्रामा प्रयोगमा आउन थालेपछि घट्टहरु लोप भएको इन्द्रावतीका घट्ट व्यवसायीहरुको भनाई छ ।
पिसानीका लागि केही समय बढी लागे पनि पानीबाट संचालन गरिने भएकाले पेट्रोलियम पद्धार्थको बचाउ गर्न र सहुलियतका लागि पनि पानीघट्ट भरपर्दो हुने भएपनि अहिले विस्थापित हुन थालेकोमा उनीहरु पनि चिन्तित् देखिएका छन् । संरक्षण गर्न सके आफ्नो पेशाको जगेर्ना हुन सक्ने झिनो आशा बोकेका माझी समुदाय आफूहरुका सबैखाले व्यवसायहरुको अस्तित्व हराउन थालेको गुनासो गर्छन् ।
परम्परागत पेशाबाट जिविका चलाउन नसकिने भएपछि धेरैजसो युवाहरु अहिले वैकल्पिक पेशातिर लागेका छन् । आफ्नो नाममा थोरै मात्र जग्गा जमिन भएकाहरु खेतीपाती र पुरानो व्यवसायको वास्ता नगरि विदेश लागेका छन् भने केही रोजगारीका लागि राजधानी लगायतका शहरहरुमा पुगेका छन् ।
पुराना सबैखाले व्यवसायहरु विस्थापित हुने निश्चित भएपछि काभे्र र सिन्धुपाल्चोकका सयौं माझी तथा दनुवारहरुको रोजगारी गुमेको स्थानीयहरुको भनाई छ ।
उता सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रका ग्रामिण भागहरुमा भने कतै कतै पानीघट्टहरु देखिन्छन् । तर तिनीहरु पनि निकै संकटपूर्ण अवस्थामा संचालनमा छन् । यस्तै सिन्धुपाल्चोककै जलवीरे र कुभिण्डे क्षेत्रमा पनि थोरै मात्रामा यस्ता घट्टहरु छन् । जिल्लाको मध्यभाग हुँदै बग्ने गरेको जलवीरे नदी किनारामा रहेका पानीघट्टहरु पनि अहिले विस्थापनको क्रममा पुगेका छन् । जलवीरे नदी किनारामा २० भन्दा वढी ठाउँमा रहेका घट्टहरु अहिले मुस्किलले ४ ठाउँमा मात्र छन् ।
स्थानीय बतासे गाउँकी ६५ वर्षिय मैना माझी सोह्र वर्षको उमेरदेखि जलवीरेमा घट्ट व्यवसाय संचालन गर्दै आएकी हुन् । उनी नदी किनारामा घट्ट लोप भएकोमा ज्यादै चिन्तित छन् । अहिले संचालनमा रहेका केही घट्टहरुबाट वार्षिक एक लाख जती कमाई हुने मैनाको भनाई छ । अहिले यो पेशाको अस्तित्व हराउन थालेको अर्की व्यवसायी काहिंली माझी बताउँछिन् । पानीघट्टमा मकै, कोदो र गहुँ लगायतका अन्नहरुको पिसानी गरिन्थ्यो र अहिले पनि गरिन्छ । सिन्धुपाल्चोकका करिब १ हजार ५ सयभन्दा बढी माझी तथा दनुवारहरुको रोजगारी गुमेको स्थानीयहरुको भनाई छ ।
