बनेपा । काभ्रेको बनेपा नगरपालिका वडानम्बर ११ मा रहेको आदर्श विद्या मन्दिर (एबिएम स्कुल) मा कक्षा युकेजीमा अध्ययनरत ६२ जना विद्यार्थी दीक्षित भएका छन् ।
सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई दीक्षित गरिएको हो । तेजगंगा क्याम्पसकी प्रमुख अम्बुभवानी कार्की प्रमुख अतिथी रहनुभएको कार्यक्रम रामकृष्ण आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । विद्यार्थीहरुलाई दीक्षित गर्दै प्रमुख अतिथी कार्कीले आदर्श विद्या मन्दिरले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै दीक्षित विद्यार्थीहरुलाई आगामी दिनमा थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थितहरुलाई सहायक प्रधानाध्यापक ललिता बञ्जाराले स्वागत गर्दै सबैको सहयोगले विद्यालय अघि बढीरहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।
विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयले गर्ने कामहरुको योजनाका बारेमा जानकारी दिनुभयो । उहाँले विद्यार्थीका लागि किताबी ज्ञानले मात्र नभइ अन्य सीपमुलक र व्यवहारिक ज्ञान पनि उतिकै महत्वपूर्ण रहेकाले यस्ता कार्यक्रम गरिएको र आगामी दिनमा पनि निरन्तर रहने बताउनुभयो । ०८० सालदेखि विद्यालयले विद्यार्थीहरुलाई दीक्षितको कार्यक्रम शुरु गरिएको उहाँको भनाइ थियो । उहाँले दिनुभएको जानकारी अनुसार हाल विद्यालयमा १ हजार १२५ विद्यार्थी अध्ययनरत छन् भने यो वर्षको एसइइमा २५ जनाले सहभागीता जनाएका छन् ।
