करिब ५ महिनादेखि दूधको भुक्तानी नपाएका काभ्रेको मण्डनदेउपुरका किसानलाई यो पटक पनि दूग्ध विकास संस्थानले झुक्याएको छ । यसअघि नियमित भुक्तानी दिनेगरि विभिन्न समयमा भएका सम्झौताहरुको उल्लंघन गर्दै संस्थानले किसानलाई दूध बेचेको पैसा नदिएको ५ महिना नाघ्यो ।

राजधानी काठमाडौं लगायतका बजारमा संस्थानले हरेक दिन नगदमा दूध बेच्दै आएको छ । तर किसानले भने आधा वर्षसम्म पैसा पाएका छैनन् । यहाँका किसानहरुले भुक्तानीको माग राख्दै यसअघि विभिन्न समयका कृषिमन्त्रीलगायतका विभिन्न नेताहरुसँग भेट गरिसकेका छन् । भेटमा उनीहरुले मिठा आश्वासन दिएर पठाए तर पैसा पठाएनन् ।

तत्कालिन कृषिमन्त्री रामनाथ अधिकारीसँग भेट हुँदा उनले किसान प्रतिनिधिलाई डिडिसीमा दूग्धजन्य पद्धार्थको स्टक धेरै रहेको र बिक्री नभएकाले भुक्तानी दिन ढिलाई भएको बताउँदै करिब ४० करोड बराबरको घिउ चीनलाई बिक्री गर्ने तयारी भएको र त्यसबाट आएको पैसा किसानलाई दिइने आश्वासन दिएका थिए । तर किसानले यस्तो आश्वासन पाएको डेढ वर्षसम्म पनि समस्या उस्तै छ ।

यसभेगको जोगिटार चिलिङ सेन्टर अन्तर्गतका किसानले मात्र करिब ८५ लाख रुपैंयाँ भुक्तानी लिन बाँकी छ भने आँपघारी दूग्ध उत्पादक सहकारीको मात्र ४३ लाख बढी बाँकी रहेको छ । त्यसैले नेपालका किसानलाई हरेक समस्या छन् भन्ने कुरा अब नयाँ रहेन । अभावै अभावका बीच अनेक हण्डर खाएर उत्पादन गरेका कृषि उपजहरुको बजार नहुँदा समस्यामा रहेका उनीहरु विगत केही वर्षयता रासायनिक मल नपाउँदा हैरान भए ।

समस्याकै बीचमा यहाँका किसानहरुलाई अहिले अर्को पीडा थपिएको छ, दूधको भुक्तानी समयमा नपाउनु । पहिले हरेक १५ दिनमा आफूले बेचेको दूधको भुक्तानी पाउँदै आएका किसानहरुलाई दूग्ध विकास संस्थानले नियमित भुक्तानी दिन छोडेको छ ।
करिब चार दशकदेखि काभ्रेका किसानहरुको आम्दानीको मुख्य स्रोत पशुपालन र तरकारी खेती भएको छ । जिल्लामा अहिले यसतर्फ लाग्ने किसानको संख्या एक लाखभन्दा बढी छ । देशका सबै किसानले भोग्दै आएका साझा समस्या यहाँका किसानले पनि भोगिरहेका छन् ।

भुक्तानी समयमा नदिनुको कारण दूधको बजार माग घटेको र पाउडर दूध बनाउनु पर्ने बाध्यता आएको संस्थानले जनाएको छ । नियमित आउँदै गरेको भुक्तानी नआएपछि किसानहरु समस्यामा छन् । यो समस्या लिएर धेरैपटक उनीहरु दूग्ध विकास संस्थानको कार्यालय लैनचौर पुगे । पैसा नै नपाइएको होइन तर बक्यौता धेरै भएपछि समस्या भएको किसान बताउँछन् ।

समयमा पैसा नआउँदा घर खर्च चलाउन र गाईवस्तुलाई दानापिठो किन्न पनि समस्या भएको किसानहरुको गुनासो छ । संस्थानले अनावश्यक कर्मचारी राखेर खर्च धान्न नसकेपछि किसानलाई अनेक बाहाना बनाएर दूधको भुक्तानी रोकेको भन्दै स्थानीय कृषक आक्रोश पोख्छन् । पाँच महिनाको ब्याजसहित भुक्तानी पाउनु पर्ने उनीहरुको माग छ ।

मण्डनदेउपुरमा दूध उत्पादन गर्ने किसानको संख्या १० हजारभन्दा बढी छ । उनीहरुले दैनिकरुपमा करिब २५ हजार लिटरभन्दा बढी दुध राजधानीका बजारमा पठाउँछन् । केही किसानहरुले निजी डेरीहरुलाई पनि बेच्छन् भने धेरैजसोले वर्षौंदेखि सरकारी माताहतको दूग्ध विकास संस्थानलाई दूध बेच्दै आएका छन् । निजी डेरीहरुले समयमै पैसा दिँदा सरकारी निकायको संस्थानले किसानलाई समयमा भुक्तानी दिएको छैन । दूधको मूल्य समयमै पाउन उनीहरुले माग गरिरहेका छन् । यसरी किसानहरुलाई सधैं समस्यामा पार्न पाइँदैन , देशमा अहिले बहुमतको सरकार छ । चाहे जे पनि गर्नसक्ने जनाधिकार पनि पाएको छ । सरकारले अब किसानका समस्या सम्बोधन गरेर काम अघि बढाउन ढिला गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *