चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो आठ महिनामा नेपाल भित्रिने विप्रेषण -रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ९.५ प्रतिशतले मात्र बढेको थियो । २०८२ फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ ।

अमेरिकी डलरमा गणना गर्दा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद द्वितीय आय -खुद ट्रान्सफर) समेत बढेर १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

यसैबिच, वैदेशिक रोजगारीमा जानका लागि नयाँ श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या ३ लाख १७ हजार ६८ रहेको थियो ।

अर्कोतर्फ, पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने वृद्धि भएको छ । अघिल्लो वर्षको आठ महिनामा २ लाख १७ हजार ४०३ जनाले पुनः श्रम स्वीकृति लिएकोमा यसवर्ष सोही अवधिमा २ लाख ५१ हजार ९८५ जनाले यस्तो स्वीकृति लिएका छन् ।

यससँगै नेपालको विदेशी विनिमय सञ्चितिले नयाँ उचाइ चुमेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति बढेर ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ ।

कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा ३० खर्ब ३५ अर्ब ११ करोड रहेको छ, जुन असारको तुलनामा २५.७ प्रतिशतले बढी हो । सञ्चिति पर्याप्तता सूचकका आधारमा नेपालको अर्थतन्त्र हालसम्मकै सर्वाधिक सुरक्षित अवस्थामा पुगेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैङ्किङ क्षेत्रसँग रहेको यो विदेशी मुद्राले २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ । सामान्यतया ६ देखि ७ महिनाको आयात धान्ने सञ्चितिलाई राम्रो मानिने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि नेपालसँग साढे १८ महिनाको आयात धान्ने क्षमता हुनुले अर्थतन्त्र निकै बलियो स्थितिमा रहेको प्रस्ट पार्छ ।

फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन -जीडीपी) सँगको अनुपात ५५.९ प्रतिशत, कुल आयातसँगको अनुपात १५३.४ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपात ४०.८ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्म पनि नेपालको बाह्य अर्थतन्त्र निकै सुदृढ र मजबुत अवस्थामा छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर देखाउने शोधनान्तर स्थिति र चालु खाता दुवैमा ऐतिहासिक बचत देखिएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष शोधनान्तर बचत दोब्बरभन्दा बढीले वृद्धि भएको हो । अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको आठ महिनामा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ६१ करोडले बचतमा पुगेको छ ।

त्यसैगरी, मुलुकको चालु खाता पनि उच्च बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ५ खर्ब ५२ अर्ब ४५ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको फागुन मसान्तसम्ममा यस्तो खाता १ खर्ब ९७ अर्ब ३ करोडले मात्र बचतमा रहेको थियो ।

यसरी हेर्दा देशको अर्थतन्त्रमा सुधार जस्तो देखिए पनि देश रेमिट्यान्सकै भरमा मात्र चलेको छ । यसरी अरुको भर पर्नुपर्ने अवस्थाबाट हामी कहिले मुक्त हुने ? सरकारले कहिले ध्यान दिने ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *