ज्ञानमणि नेपाल कालोटोपी
गोपेडाँडा, महाभारत । काभ्रेको महाभारत गाउँपालिका वडा नं ५ को गोपेडाँडा कुनै बेला फुस्रो डाँडो मात्रै थियो । तर पछिल्ला दिनहरुमा यहाँको परिचय फेरिएको छ । यहाँ अहिले धार्मिक पर्यटकीय गन्तव्य बनाउने कार्यको शुरुवात गरिएको छ । काम करिब आधा सम्पन्न भइसकेको छ ।

यहाँ अहिले ३६ फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ । अधिकांश बुद्ध धर्मावलम्बीहरुको बसोबास भएकाले यहाँ कोन्ज्योसोम -हिन्दु धर्मावलम्बीहरुले त्रिदेव भनेर ब्रम्हा, विष्णु र शिवलाई मानिने जस्तै भगवान) निर्माण गर्न लागिएको हो । सँगै तीन वटा बुद्ध मुर्ति निर्माण गर्ने लक्ष्य अनुरुप अहिले एउटा निर्माण सम्पन्न भइ प्राणप्रतिष्ठा पनि भइसकेको छ ।

यो ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने नै मुख्य लक्ष्य भएको स्थानीय बुद्धिमान योञ्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका बासिन्दाहरु धार्मिक कार्यका लागि बौद्ध, स्वयंम्भु, नमोबुद्ध, लुम्बिनीलगायतका स्थानमा जानुपर्ने बाध्यता छ । गाउँ नजिकै धार्मिक गन्तव्य बनाउन सके यहाँका जेष्ठ नागरिकले धेरै टाढा जानु पर्दैन । त्यसकै लागि पाँच वर्षदेखि यहाँ धार्मिक पर्यटकीय गन्तव्य निर्माणको शुरुवात गरिएको हो । यसका लागि प्रदेश सरकार र महाभारत गाउँपालिकाको करिब ७० लाख तथा अन्य दाताहरुको सहयोग रहेको छ । यहाँ हरेक बुद्ध पूर्णिमाका दिन विशेष मेला लाग्ने गरेको छ ।

कोन्ज्योसोम निर्माण हुनु पहिले यो ठाउँ मान्छे जलाउने चिहानको रुपमा चिनिन्थ्यो । स्थानीयहरुले यस ठाउँलाई चिहानको रुपमा मात्र रहनदिनु हुँदैन भन्ने सोचले माटोको बुद्धको मुर्ति बनाए । पछि त्यो मुर्ति भत्कियो र यसलाई व्यवस्थित बनाउने पहल स्वरुप यतिबेला बुद्धको प्रतिमा निर्माण गर्न सफल भइएको स्थानीय सुवास जिम्बाले बताउनुभयो ।

महाभारत गाउँपालिकाले आफ्ना सम्भाव्य पर्यटकीयस्थलहरुको पहिचान गरि ती ठाउँलाई धार्मिक हिसाबले पनि चिनाउने अभियान थालेको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो । पालिकाले पर्यटन पूर्वाधार गुरुयोजना बनाएर नजिकै हेलिप्याड पनि बनाउने तयारी गरेको र विभिन्न मनोरञ्जनात्मक पार्कहरु पनि निर्माण गर्ने लक्ष्यका साथ अघि बढेको उहाँले बताउनुभयो । यही योजना अनुसार गोकुलेको लभडाँडामा लभपार्क पनि निर्माण गर्ने योजना छ । साथै बनखुको सल्लेनीमा हजार सिंढी बनाउने पनि लक्ष्य राखिएको पालिका अध्यक्ष जिम्बा बताउनुहुन्छ । यहि वर्षमै चैतेपानीको गोदावरीमा पनि विशेष योजनाका साथ एक वर्षभित्र निर्माण सक्ने गरि काम अघि बढाइने उहाँको भनाइ छ ।

वडा नम्बर ५ का वडाध्यक्ष विजय राना मगरका अनुसार महाभारतमा केही चर्चित र अनौठा धार्मिक गन्तव्य छन् । यहाँको चैतेपानीमा ललितपुरको गोदावरीमा १२ वर्षमा लाग्ने मेला जस्तै हरेक १२ वर्षमा मेला लाग्छ । मेला लाग्ने वर्ष मात्र यहाँ गोदावरीको फूल फूल्ने र स्नान गर्ने कुण्डमा पानी आउने गर्छ । त्यसैले पनि यसलाई विस्तार गर्दै संरक्षणको लक्ष्य राखिएको उहाँ बताउनुहुन्छ । पछिल्ला केही वर्षयता महाभारतका लुकेका पर्यटकीय र धार्मिक गन्तव्य खोजी गरि संरक्षण र निर्माणलाई तिब्रता दिइने पालिकाको योजना रहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *