काभ्रे । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले विपद् प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण थालिने बताउनुभएको छ ।
‘विपद् जोखिम, न्यूनीकरण र विपद् व्यवस्थापन सिकाइ तथा आगामी कार्ययोजना’ विषयमा बुधबार धुलिखेलमा आयोजित कार्यशालामा उहाँले अबको एक साताभित्र विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण थाल्ने गरी प्रक्रिया प्रारम्भ भएको बताउनुभयो ।
गत असोजको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको विवरण स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त हुनेबित्तिकै गृह मन्त्रालयले बनाएको पुनर्निर्माण कार्यविधि मन्त्रिपरिषदमा पेस भई निर्णय भइसकेको छ । क्याबिनेटको विधायन समितिमा विचाराधीन उक्त कार्यविधि आगामी एक साताभित्रमा निर्णय भई पुनः क्याबिनेट बैठकले अनुमोदन गरेपछि पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्ने मन्त्री यादवले बताउनुभयो ।
मन्त्री यादवले विशेषगरी खानेपानीको संरचनामा भएका क्षतिबारे आफूले स्थलगत निरीक्षण गरेको बताउँदै स्थानीय तहले जिम्मा लिई हाल पुनर्निर्माण गर्न नसक्ने अवस्थामा रहे खानेपानी मन्त्रालयले पुनर्निर्माण गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्यहरु कञ्चनचन्द्र वादे श्रेष्ठ, रत्न ढाकाल र लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जू, रोशी गाउँपालिकाका प्रमुख दिनेश लामालगायतले जाडो याममा नागरिकले कष्टकर जीवन बिताउनु परेकाले विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य तत्काल थाल्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
