बेथानचोक । काभ्रेको बेथानचोक गाउँपालिकाले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेडेड विद्यार्थीहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । बुधबार गाउँपालिकाको सभाहलमा विद्यार्थीहरुलाई मनोपरामर्शसहित सम्मान गरेको हो । कार्यक्रममा सर्वोत्कृष्ट जिपीए हासिल गर्ने विद्यार्थीहरुलाई नगदसमेत प्रदान गरिएको थियो । यो वर्ष बेथानचोक गाउँपालिकाका १० वटा मा.वि.बाट कूल १५८ विद्यार्थी परीक्षामा सामेल भएका थिए । जसमा ५२.५३ प्रतिशत् विद्यार्थी ग्रेडेड भएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सम्पूर्ण विद्यार्थीहरूलाई बेथानचोक गाउँपालिका र व्यक्तिगततर्फबाट बधाई तथा सुखद भविष्यको शुभकामना दिनुभयो । आफ्नो कडा परिश्रम, लगनशीलता र धैर्यताको बलमा आज यो महत्त्वपूर्ण सफलता हासिल भएको बताउँदै उहाँले सम्पूर्ण गाउँपालिका परिवारलाई नै गौरवान्वित तुल्याउने गरी भावी दिनहरुमा कडा मिहेनत गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, तपाईँहरूको शैक्षिक यात्राको एउटा महत्त्वपूर्ण प्रस्थानविन्दु मात्र हो, अझै थप चुनौती र अवसरहरूले भरिएको सुनौलो भविष्य तपाईँहरूको पर्खाइमा छ । आगामी दिनहरूमा पनि थप उच्च मनोबलका साथ आफ्नो रुचि र क्षमता अनुसारको क्षेत्रमा अघि बढ्दै, भोलि देश र विशेषगरी हाम्रो बेथानचोकको विकास र समृद्धिमा योगदान पुर्याउने योग्य, दक्ष र नैतिकवान् नागरिक बन्न सक्नुहोस् ।

उहाँले आफ्ना सन्ततीलाई सफल पार्न पुर्याउन अहोरात्र खट्नु हुने अभिभावक र मार्गदर्शन गर्नुहुने सम्पूर्ण शिक्षक वर्गमा समेत आभार प्रकट गर्नुभयो । कार्यक्रममा परामर्शदाता जमुना कुँवरले विद्यार्थीहरुलाई उच्च शिक्षाबारे परामर्श प्रदान गर्नुका साथै तनाव व्यवस्थापन, विद्यार्थीहरूको मानसिक, भावनात्मक, र शैक्षिक विकासका लागि मनोपरामर्श प्रदान गर्नुभयो । उहाँले अध्ययन सीपको विकास, विषय र करियर चयन, लक्ष्य निर्धारण, व्यक्तिगत तथा भावनात्मक परामर्श, तनाव र चिन्ता व्यवस्थापन लगायतका विषयमा परामर्श प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले अभिभावक शिक्षक र विद्यार्थीहरुको साझा प्रयासले मात्र उत्कृष्ट नतिजा ल्याउने हुँदा सबैले जिम्मेवारी लिए मात्र नतिजामा सोचेजस्तो हुने बताउनु भयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख पुष्पा राईले गाउँपालिकाको शिक्षा गतिविधिहरुमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा ६ वटै वडाका अध्यक्षहरु क्रमशः मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुवेर ढकाल, कृष्णबहादुर तामाङ, राजकुमार वाइबा र विष्णु तामाङ, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, वि.व्य.स. अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *