धुलिखेल । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा ‘मानसिक स्वास्थ्य प्रवद्र्धन लक्षित आत्महत्या न्यूनीकरणका लागि जोखिम सञ्चार प्रवाहसम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रम’ आइतबार जनस्वास्थ्य कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रम जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन तथा समन्वय जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर के.सी., नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख रविन कार्की लगायत नेपाल पत्रकार महासंघका पदाधिकारी, जिल्लाका क्रियाशील पत्रकारहरूको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयकी डा.उर्मिला पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम आत्महत्या न्यूनीकरण, मानसिक स्वास्थ्य प्रवद्र्धन तथा जिम्मेवार सञ्चार प्रवाहका विषयमा केन्द्रित रही पूर्णरूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा हरेक दिन १९ जनाको मृत्यु आत्महत्याका कारण हुने गरेको छ । विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् भने वार्षिक ८ लाख मानिसले यस्तो मृत्यु रोज्ने गरेका छन् । काभ्रेमा गत आर्थिक वर्षमा ११९ जनाले आत्महत्या गरेका थिए भने चालु आर्थिक वर्षको वैशाखसम्म ६३ जनाले आत्महत्या गरेका प्रहरीको तथ्यांकले देखाएको छ ।
कार्यक्रममा आत्महत्याका विभिन्न कारण मध्ये मानसिक स्वास्थ्य मुख्य भएको र यसको न्यूनिकरणमा पत्रकारहरूको ठूलो भूमिका रहने बताइएको छ । उपस्थित पत्रकारहरूले आत्महत्या न्यूनिकरणमा सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
