अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन भन्दै असार २२ गतेदेखि साउन ५ गतेसम्म टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरको अनुरोधमा असार ८ गते बसेको सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
निर्णय अनुसार सडकको एक लेनमा कालोपत्रे गर्ने कार्य सञ्चालन हुने भएकाले उक्त अवधिभर टिपर सञ्चालन बन्द गरिनेछ । साथै एम्बुलेन्स लगायतका अत्यावश्यक सेवाका सवारीसाधन बाहेक यात्रुबाहक तथा मालवाहक सवारीसाधनलाई पनि बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा प्रवेश गर्न निषेध गरिएको छ ।
सडक निर्माण कार्यलाई सहज, सुरक्षित र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको जनाइएको छ । सम्बन्धित निकायले सर्वसाधारण, सवारी चालक तथा व्यवसायीहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न तथा निर्धारित समयको पालना गर्न अनुरोध गरेका छन् । सडक स्तरोन्नतिको कार्य सम्पन्न भएपछि यातायात सञ्चालन थप सहज र सुरक्षित हुने निर्माणपक्षको अपेक्षा छ ।
यसअघि सडक कालोपत्रे गर्न भन्दै गत चैत ७ गतेदेखि पटकपटक विभिन्न मिति थप्दै चैत ३० गतेसम्म आवागमन बन्द तथा एकतर्फी सञ्चालन भइरहेको थियो । त्यसपछि वैशाख १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन गरिएको हो । यहाँ चैत २२ गतेदेखि कालोपत्रेको काम सुरु गरिएको थियो । त्यस दिनदेखि रातको समयमा पूर्णरूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी हाल धुलिखेल चोकबाट २.५ किलोमिटर सडक एकतर्फी पक्की बनाइएको थियो ।
स्तरोन्नती भइरहेको चार किमीमध्ये बाँकी दुरी पक्की गर्ने कार्य यो साताबाट सुरु गरिने बताइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएको हो । तर विश्व बजारमा इन्धनको मूल्य बढेपछि निर्माण सामाग्रीको मूल्य आकाशिएको भन्दै पुनर्निर्माण बन्द भएको थियो ।
कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्ने गरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको छ । उक्त सडकखण्डमा कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने बताइएको छ । सात मिटर चौडाईको बन्ने उक्त सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने जनाइएको छ ।
यसअघि तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । उक्त निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो ।
उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमा रहेको छ । यसरी ४ किलोमिटरको सडक निर्माणका लागि ५ वर्ष लागेको देखिन्छ । जसले गर्दा यहाँ यात्रीहरुले सधैं दुःख झेल्नु परेको छ । अब यसको पूर्णरुपमा अन्त्य होस् । नागरिकले सहज तरिकाले यात्रा गर्न पाउन् । यसका लागि सबै सरोकारवाला निकायले ध्यान दिन सकुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *