बनेपा । काभ्रे बहुमुखी क्याम्पसले क्याम्पस स्थापना र विकासमा बनेपा नगरपालिका–६ का स्थानीय समुदायको योगदानलाई सम्मान गर्न तथा क्याम्पससँग सम्बन्धित विवादलाई संवादमार्फत समाधान गर्न सबै पक्षसँग आग्रह गरेको छ ।
क्याम्पस प्रमुख के.जी. वैदारद्वारा जारी विज्ञप्तिमा क्याम्पस स्थापना हुनुअघि तत्कालीन वडा अध्यक्ष स्वर्गीय पृथ्वीध्वज केसी, स्वर्गीय कृष्णबहादुर बजगाईं, भैरव केसीलगायत स्थानीय समुदायले महत्वपूर्ण योगदान गरेको उल्लेख गरिएको छ । तत्कालीन मन्त्रिपरिषद्को निर्णयअनुसार क्याम्पसका नाममा जग्गा उपलब्ध गराइएको र त्यसबाट क्याम्पसलाई कानुनीरूपमा हकाधिकार प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ ।
पछिल्ला केही वर्षदेखि केही व्यक्तिले क्याम्पसलाई जग्गाको स्वामित्वबाट वञ्चित गर्ने, क्याम्पसलाई ‘सुकुम्बासी’को रूपमा चित्रित गर्ने तथा शैक्षिक गतिविधिमा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको विज्ञप्तिमा आरोप लगाइएको छ । यसले स्थानीय शिक्षाको विकासमा नकारात्मक असर परेको क्याम्पसले जनाएकाे छ ।
हाल क्याम्पसमा बनेपा कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (BCMT) मार्फत नेपाल सरकारबाट सम्बन्धन प्राप्त B.Sc. CSIT, BBA र MBA कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै ती कार्यक्रमसमेत बन्द गराउन दबाब दिइएको र अवाञ्छित गतिविधि सञ्चालन गर्ने धम्कीसमेत प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि, क्याम्पसले समस्या समाधानका लागि संवादको बाटो रोजेको जनाएको छ । यसका लागि संयोजक कृपेन्द्र श्रेष्ठको नेतृत्वमा डा. माधवप्रसाद तिमिल्सिना, श्रीराम श्रेष्ठ, आत्माराम थापा, युगेश्वर कायस्थ र रोहित पराजुली सदस्य रहेको वार्ता समिति गठन गरिएको जानकारी दिइएको छ ।
क्याम्पसले वार्ता र छलफलमार्फत समाधान खोज्न आफू सदैव तयार रहेको स्पष्ट गर्दै क्याम्पसको अस्तित्व, विकास र शैक्षिक उन्नयनलाई केन्द्रमा राखेर सबै सरोकारवालालाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेको छ । साथै, बनेपा–६ का स्थानीयवासीले सहयोग गरेर बालेको शिक्षाको दीपलाई जोगाउनु सम्पूर्ण समुदायको साझा दायित्व भएको क्याम्पसको भनाइ छ ।
