धुलिखेल । कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय धुलिखेलबाट साउन १ गतेयता साउन २० गतेसम्म विभिन्न प्रकारका रासायनिक मल गरी ३७ हजार ४१७ बोरा बिक्री भएको छ ।

कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार यो अवधिमा युरिया २४ हजार ५१० बोरा, डीएपी ११ हजार ९२८ बोरा र पोटास ९७९ बोरा बिक्री भएको छ । हाल कार्यालयमा युरिया ३७९ बोरा, डिएपी १९६ बोरा र पोटास मल १ हजार ४२९ बोरा बाँकी छ । कृषि सामग्री कम्पनी लिमिटेडले पर्याप्त मौज्दात रहेकाले किसानहरूलाई आवश्यकता अनुसार नजिकको सहकारी संस्थाबाट सहजरूपमा मल खरिद गर्न आग्रह गरेको छ ।

एक वर्षमा ११ हजार ६६८ मेट्रिक टन बिक्री
पछिल्ला केही वर्ष यता देशका धेरैजसो किसानको एउटै गुनासो छ, खेती गर्ने समयमा रासायनिक मल नै पाइँदैन । तैपनि सरकारले भने मल आयात र वितरण सहज भएको दाबी गर्दै आइरहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेलले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका लागि रासायनिक मल बिक्री वितरण गर्दै आइरहेको छ । यी चार जिल्लामा कम्पनीले गत आर्थिक वर्षमा ठूलो परिमाणमा मल बिक्री वितरण गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

०८२ साउनदेखि ०८३ असार मसान्तसम्म यस कम्पनीले चार जिल्लामा ११ हजार ६६८.७ मेट्रिक टन अनुदानको मल बिक्री गरिसकेको छ । जसमध्ये ८ हजार २५२.९ मेट्रिक टन युरिया मल बिक्री गरेको छ । यही अवधीमा ३ हजार ५५.८५ मेट्रिक टन डिएपी र ३५९.९५ मेट्रिक टन पोटास मल बिक्री गरिसकेको कार्यालयका प्रमुख आलोककुमार शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार चार जिल्लामध्ये सबैभन्दा बढी काभ्रे जिल्लामा बिक्री गरिएको छ ।

काभ्रेमा ५ हजार ५९७ मेट्रिक टन युरिया, २ हजार १७३ मेट्रिक टन डिएपी र २८७ मेट्रिक टन पोटास मल बिक्री भएको छ । यस्तै सिन्धुपाल्चोकमा २ हजार ३९८ मेट्रिक टन युरिया, ८५१ मेट्रिक टन डिएपी र ७२ मेट्रिक टन पोटास मल बिक्री गरिएको छ । उता दोलखामा ४१ मेट्रिक टन युरिया, ११ मेट्रिक टन डिएपी र ०.३० मेट्रिक टन पोटास बिक्री भएको तथ्यांक छ भने यही समय अवधिमा रामेछापमा भने २१७ मेट्रिक टन युरिया, २० मेट्रिक टन डिएपी र ०.०६ मेट्रिक टन पोटास मलको बिक्री गरिएको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *