स्वस्थ जीवन, सुरक्षित भविष्य भन्ने नाराका साथ मण्डनदेउपुर नगरपालिकाले नगरका १२ वटै वडाका स्थानीयवासीलाई अनुदानमा इन्डक्सन चुल्हो वितरण गरेको छ । नगरपालिकाका प्रवक्ता पुरुषोत्तम बजगाईंका अनुसार नगरपालिकाले कुल २ हजार ६३८ वटा इन्डक्सन चुल्हो प्रति चुल्हो ६२० रुपैयाँमा वितरण गरेको हो ।

कार्यक्रम नगर प्रमुख टोकबहादुर वाइवाको अध्यक्षतामा सम्पन्न भएको थियो भने नगर उपप्रमुख विष्णुमणि नेपाल विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्राविधिक उमेश अधिकारीले इन्डक्सन चुल्हो सञ्चालनसम्बन्धी प्राविधिक जानकारी दिनुभएको थियो । उहाँले इन्डक्सन चुल्होमार्फत ग्यासको तुलनामा करिब ६५ प्रतिशत कम खर्चमा खाना पकाउन सकिने जानकारी दिनुभयो ।

नगरपालिकाले यसअघि विभिन्न लक्षित समूहका लागि वडा कार्यालयमार्फत निवेदन आह्वान गरी चुल्हो वितरणको प्रक्रिया अघि बढाएको थियो । कार्यक्रममा नगरपालिकाको नीति तथा योजना आयोगका उपाध्यक्ष गोकुल गौतमले इन्डक्सन चुल्होको प्रयोग र यसको स्वास्थ्य, वातावरण तथा आर्थिक फाइदाबारे जानकारी गराउनुभएको थियो । त्यसैगरी आयोगका सदस्य कश्यप पौडेलले विद्युतीय चुल्होको इतिहास, विकासक्रम र वर्तमान आवश्यकता सम्बन्धमा चर्चा गर्नुभयो ।

नगर प्रमुख टोकबहादुर वाइवाले विगतको दाउरा प्रयोग गर्ने जीवनशैली स्मरण गर्दै समयसँगै प्रविधिको विकासले नागरिकको दैनिकी परिवर्तन भएको उल्लेख गर्नुभयो । उहाँले अब विस्तारै ग्यासको प्रयोग घटाउँदै विद्युतीय चुल्होको प्रयोग बढाउन नागरिकलाई अनुरोध गर्नुभयो ।

नगर उपप्रमुख विष्णुमणि नेपालले नगरपालिकाले स्वच्छ वातावरण निर्माणका लागि सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमबारे जानकारी दिँदै इन्डक्सन चुल्हो सञ्चालनमा कुनै समस्या आए नगरपालिकाका प्राविधिकसँग सम्पर्क गरी आवश्यक परामर्श लिन आग्रह गर्नुभयो । इन्डक्सन चुल्हो प्राप्त गरेका स्थानीयवासीले नगरपालिकाको पहलप्रति खुशी व्यक्त गर्दै नयाँ प्रविधिको प्रयोग सिकेर दैनिक जीवनमा अपनाउने बताएका छन् ।

देशभर करिब १५ हजार विद्युतीय चुल्हो वितरण गरिएको सरकारले जनाएको छ तर मण्डनदेउपुर नगरले मात्र २ हजार ६ सय बढी चुल्हो वितरण गर्नु उल्लेख्य कदमको रुपमा लिइएको छ । यस्ता चुल्हो बजारबाट खरिद गर्दा करिब ४ हजार ५०० पर्छ । तर नगरपालिका मार्फत अनुदानमा लिँदा स्थानीयले ६२० रुपैंयाँ मात्र तिरे पुग्ने भएको छ । यसमा ऊर्जा मन्त्रालय र नगरपालिकाले पनि सहयोग गरेका छन् ।

यो कार्यले समग्ररुपमा वातावरण स्वच्छ राख्न उल्लेख्य सफलता पाइने अपेक्षा गरिएको छ । खासमा चुल्हो वितरण मात्र उपलब्धी होइन, स्थानीयहरुले तिर्ने विद्युत शुल्कमा सरकारले एकपछि अर्को कर लगाउने निर्णय गरेको छ । यसलाई हटाउनु पर्ने आवश्यकता देखिन्छ । त्यस्तै विद्युतीय उपकरण सञ्चालन गर्न आवश्यक सीप पनि प्रदान गर्नु पर्छ । जसले हुन सक्ने दुर्घटनाहरु न्यूनिकरण हुनेछ । यसतर्फ ध्यान दिनुपर्ने र मण्डनदेउपुरले जस्तै अन्य पालिकाले पनि यसमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *