ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौँ । चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरोपछि ठूलो मात्रामा पानी नेपालतर्फ प्रवेश गर्दा रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको आकस्मिक भीषण बाढीले उत्तरी क्षेत्रदेखि चितवनसम्म ठूलो क्षति पु¥याएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन प्रत्यक्ष प्रभावित भएका छन् भने त्रिशूली नदी आसपासका तटीय बस्तीमा उच्च जोखिम कायमै रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तिब्बततर्फ हिमपहिरो खसेपछि त्यसको प्रभावस्वरूप भोटेकोशीमा एक्कासि ठूलो बाढी आएको प्रारम्भिक जानकारी चीनले नेपाललाई गराएको हो । बुधबार बिहान करिब ९ बजेतिर तिब्बततर्फबाट ठूलो मात्रामा पानी नेपाल प्रवेश गरेपछि रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको थियो ।अचानक आएको बाढीले टिमुरे बजारसहित आसपासका बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पु¥याएको छ । बाढीको बहाव भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएपछि नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्रमा समेत नदीको जलस्तर तीव्र रूपमा बढेको छ ।
टिमुरेदेखि विदुरसम्म ठूलो क्षति
रसुवाबाट आएको बाढीले नुवाकोटको विदुर नगरपालिकाका विभिन्न तटीय क्षेत्रमा समेत ठूलो भौतिक क्षति पु¥याएको छ । बाढीले एक–दुई वर्षअघि मात्रै निर्माण सम्पन्न भएका दुईवटा पक्की पुलसमेत बगाएको छ । बजार तथा बस्तीमा पानी पसेपछि घर, बैंक तथा अन्य संरचनामा पूर्ण तथा आंशिक क्षति पुगेको जनाइएको छ । बाढीको प्रभाव बढ्दै गएपछि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
१५ जलविद्युत् आयोजनामा क्षति
बाढीले रसुवा र नुवाकोटमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनामा पनि ठूलो क्षति पु¥याएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल -इप्पान) को प्रारम्भिक विवरणअनुसार ७५३ मेगावाट क्षमताका १५ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् ।
प्रभावित आयोजनामध्ये ३५९ मेगावाट क्षमताका १० वटा सञ्चालनमा रहेका आयोजना र ३९४ मेगावाट क्षमताका पाँचवटा निर्माणाधीन आयोजना छन् । रसुवा जिल्लामै सञ्चालनमा रहेका पाँचवटा आयोजनाका २३६ मेगावाट र निर्माणाधीन तीनवटा आयोजनाका करिब ३४२ मेगावाट क्षमताका संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण छ । बाढीले आयोजना परिसर, पहुँचमार्ग तथा अन्य संरचनामा समेत क्षति पु¥याएको जनाइएको छ ।
विद्युत् उत्पादन र प्रसारणमा गम्भीर असर
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीले रसुवाका प्रमुख जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा गम्भीर क्षति पु¥याएको छ।रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् केन्द्र, त्रिशूली–३ ए, त्रिशूली–३ बी हब तथा २२० केभी सबस्टेसन, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रलगायतका संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । उत्पादन तथा प्रसारण संरचना क्षतिग्रस्त भएपछि ती क्षेत्रबाट हुने विद्युत् उत्पादन र प्रसारणसमेत प्रभावित भएको छ । प्राधिकरणले विद्युत् संरचनासँगै घर, सडक, पुल तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक आकलन गरेको छ ।
प्रधानमन्त्रीद्वारा प्रभावित क्षेत्रका सांसदसँग छलफल
बाढीबाट उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री वालेन्द्र शाहले प्रभावित जिल्लाका संघीय सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदहरूसँग बाढीबाट भएको क्षति, तटीय बस्तीको अवस्था, उद्धार, राहत तथा आगामी कदमका विषयमा जानकारी लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सञ्चार सेवा प्रदायकद्वारा राहत
बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन निजी क्षेत्रका दूरसञ्चार सेवा प्रदायकले निःशुल्क सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । एनसेलले प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ । साथै तीन दिनका लागि १०० वटा एसएमएससमेत निःशुल्क दिने घोषणा गरेको छ । नेपाल टेलिकमले पनि प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई दुई दिनसम्म निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डेटा र दैनिक ५० वटा एसएमएस उपलब्ध गराउने जनाएको छ ।
पासाङल्हामु राजमार्गमा यातायात रोक
भोटेकोशीमा आएको बाढी तथा पहिरोका कारण पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सडक तथा आसपासका संरचनामा जोखिम बढेपछि ट्राफिक प्रहरीले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै तत्कालका लागि सार्वजनिक यातायात रोकिएको जनाएको छ ।
जोखिम सुस्तासम्म
भोटेकोशी र त्रिशूलीमा आएको बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत परेको भन्दै जलविज्ञान तथा अनुसन्धान केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पुगेपछि सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत पूर्वसूचना पठाइएको छ । अधिकारीहरूले रसुवादेखि नुवाकोट, धादिङ, गोरखा हुँदै चितवन र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा आधिकारिक सूचना मात्र पछ्याउन आग्रह गरेका थिए ।
बुधबार बिहान तिब्बतबाट शुरु भएको असामान्य बाढीले छोटो समयमै ठूलो भूभाग प्रभावित बनाएपछि अहिले उद्धार, क्षतिको विवरण संकलन तथा जोखिम न्यूनीकरणको कामलाई तीव्रता दिइएको छ । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने अझै संकलनकै क्रममा रहेको सम्बन्धित निकायहरूले जनाएका छन् ।
