काभ्रे । राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट नेपाल राष्ट्र बैंकको प्राविधिक सहयोगमा बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सघन अनुगमन तथा सुपरीवेक्षण सम्पन्न भएको छ। प्राधिकरणले असोज ५ गतेदेखि ९ गतेसम्म संस्थाको वित्तीय अवस्था, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली तथा समग्र व्यवस्थापन पक्षको विस्तृत अध्ययन तथा सुपरीवेक्षण गरेको हो।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निर्देशक तथा सहकारी निरीक्षण टोलीका सुपरीवेक्षक केशवराज भट्टाराईको संयोजकत्वमा सम्पन्न अनुगमनमा नेपाल राष्ट्र बैंकका अधिकृत सुमन राज डंगोल टोली प्रमुखका रूपमा सहभागी हुनुहुन्थ्यो । टोलीमा नेपाल राष्ट्र बैंकका प्रधान सहायक जयराज कोइराला तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका वरिष्ठ सहायक रञ्जना खड्काको समेत सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी मापदण्डको अधीनमा रही संस्थाले अवलम्बन गरेका विभिन्न वित्तीय तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत समीक्षा गरिएको थियो । विशेषगरी वित्तीय स्रोत संकलन, ऋणको सीमा, ऋण वर्गीकरण तथा व्यवस्थापन, तरल सम्पत्ति, पूँजीकोष, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, विनियमावली तथा आन्तरिक नीति र कार्यविधि, आर्थिक पारदर्शिता, कर्मचारी व्यवस्थापन, सम्पत्ति शुद्धीकरण तथा संस्थागत सुरक्षा प्रणालीलगायतका विषयमा अध्ययन तथा सुपरीवेक्षण गरिएको संस्थाले जनाएको छ ।
सघन अनुगमनका क्रममा प्राप्त सुझाव, निर्देशन तथा पृष्ठपोषणलाई संस्थाको सुशासन, पारदर्शिता, जोखिम व्यवस्थापन र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण मार्गदर्शनका रूपमा ग्रहण गरिएको सहकारीले जनाएको छ । प्राप्त सुझाव तथा निर्देशनलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्दै संस्थाको वित्तीय अनुशासन, पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहलाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत संस्थाले व्यक्त गरेको छ । सहकारीले सघन अनुगमन तथा सुपरीवेक्षणमा सहभागी सम्पूर्ण टोलीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
