बनेपा । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको ४५औँ वार्षिक साधारण सभा बनेपामा सम्पन्न भएको छ । संघका अध्यक्ष अमन पोटेको अध्यक्षतामा सम्पन्न सभामा संघको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो ।साधारण सभामा संघका सचिव प्रकाश बञ्जाराले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघले सहकारी क्षेत्रको विकास, सहकारी संस्थाबीच समन्वय तथा सदस्यहरूको हितमा गर्दै आएका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
त्यस्तै, कोषाध्यक्ष अर्जुन सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघको आर्थिक कारोबारबारे जानकारी दिनुभएको थियो । प्रस्तुत विवरणअनुसार संघको शेयर पूँजी ३ करोड ४९ लाख ६ हजार ४ सय रुपैयाँ रहेको छ भने बचत ५ करोड ८४ लाख ६५ हजार रुपैयाँ पुगेको छ । संघले विभिन्न क्षेत्रमा गरेको कारोबारबाट ७० लाख ३४ हजार ८ सय रुपैयाँ राजस्व योगदान गरेको जनाइएको छ । त्यसैगरी संघको ऋण लगानी २७ करोड १ लाख ६२ हजार ४ सय रुपैयाँ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा संघकी सञ्चालक तथा उपाध्यक्ष मीरा सत्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले सहकारी संस्थाहरूबीचको सहकार्य, सदस्यको आर्थिक सशक्तीकरण र सहकारी अभियानलाई थप प्रभावकारी बनाउन संघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सभामा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले सहकारी क्षेत्रलाई पारदर्शी, जवाफदेही र सदस्यकेन्द्रित बनाउन सञ्चार क्षेत्र र सहकारीबीचको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
साधारण सभामा संघको विगतको गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सहकारी संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि, सहकारी शिक्षा, सदस्य सेवा विस्तार तथा सहकारी अभियानलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरिएको थियो । जिल्ला सहकारी संघले काभ्रेपलाञ्चोकमा सञ्चालित सहकारी संस्थाहरूबीच समन्वय कायम गर्दै सहकारी अभियानलाई थप सुदृढ बनाउन भूमिका निर्वाह गर्दै आएको छ। ४५औँ वार्षिक साधारण सभाले संघको आगामी यात्रा थप प्रभावकारी बनाउने आधार तय गरेको जनाइएको छ।
सहकारी क्षेत्रको विकास, योगदान र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै काभ्रेपलाञ्चोकका विभिन्न सहकारी संस्था तथा सहकारीकर्मीलाई सहकारी पुरस्कार तथा सम्मान २०८३ अन्तर्गत विभिन्न विधामा पुरस्कृत गरिएको छ । सहकारी व्यवसाय पुरस्कार २०८३ अन्तर्गत बहुउद्देश्यीय सहकारी विधातर्फ पनौती नगरपालिका–६ स्थित सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छनोट भएको छ। त्यस्तै, कृषि सहकारी विधातर्फ पाँचखाल नगरपालिका–३ स्थित प्रतिष्ठा सहकारी संस्था लिमिटेडलाई सहकारी व्यवसाय पुरस्कार प्रदान गरिएको छ ।
असल ऋणी सदस्य संस्था पुरस्कार २०८३ अन्तर्गत धुलिखेल नगरपालिका–३ स्थित नमस्ते कृषि सहकारी संस्था लिमिटेड छनोट भएको विवरणमा उल्लेख छ । सहकारी क्षेत्रसँगै पत्रकारितामार्फत सहकारी अभियानमा योगदान पुर्याएको भन्दै सहकारी पत्रकारिता पुरस्कार-२०८३ बाट चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतिराम तिमल्सिनालाई सम्मान गरिएको छ । यसैगरी, सर्वोत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०८३ का लागि लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती–४, का प्रमुख कार्यकारी अधिकृत, मनोज रायमाझी छनोट भएका छन् ।

