बनेपा। बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारणसभा अन्तर्गत अन्तिम निर्णय प्रमाणीकरण सभा सम्पन्न भएको छ । असोज १६ देखि १८ गतेसम्म सम्पन्न सातवटा इकाइ सभाबाट छनोट भएका प्रतिनिधिहरूको सहभागितामा बुधबार, असोज २१ गते निर्णय प्रमाणीकरण सभा सम्पन्न भएको हो ।

इकाइ सभाबाट छनोट भएका ३१ जना प्रतिनिधिको सहभागितामा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय समृद्ध आवास विशिष्टीकृत सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा बागमती प्रोस्कूनका कोषाध्यक्षसमेत रहनुभएका संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष प्रदीप थापाले सभाको उद्घाटन गर्नुभएको थियो । सभामा संस्थाका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालक समिति सदस्य केशव थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा छनोट भएका प्रतिनिधिसहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, केन्द्रीय उपसमितिका पदाधिकारी, सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।

निर्णय प्रमाणीकरण सभा सम्पन्न भएपछि ३३औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो । निर्वाचन उपसमितिका संयोजक अधिवक्ता नवराज बडालले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो । शपथ ग्रहण समारोहमा संस्थाका सल्लाहकारद्वय प्रदीप थापा र भीमसेनप्रसाद सापकोटा, निर्वाचन उपसमितिका संयोजक अधिवक्ता नवराज बडाल तथा प्रमुख कार्यकारी अधिकृत केबी लामा स्याङ्तानले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

३३औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित सञ्चालक समितिको अध्यक्षमा शान्तकुमार श्रेष्ठ, उपाध्यक्षमा केशव थापा, सचिवमा भीमबहादुर खत्री र कोषाध्यक्षमा गणेशप्रसाद पराजुली चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा लोकदर्शन कर्माचार्य, बुद्धिमाया लामा, सुनिता धिताल, पुष्पा खड्का बस्नेत र रामशरण श्रेष्ठ निर्वाचित हुनुभएको छ । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामकुमार श्रेष्ठ तथा सदस्यहरूमा विदुर थापा र सिद्धिलक्ष्मी पोते निर्विरोध निर्वाचित हुनुभएको छ ।

शपथ ग्रहण कार्यक्रमको सञ्चालन नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, केन्द्रीय उपसमितिका पदाधिकारी, सेवा कार्यालय व्यवस्थापन उपसमितिका पदाधिकारी तथा उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो । सोही अवसरमा निर्वाचन उपसमितिलाई संस्थाको निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेकोमा कदरपत्रसमेत प्रदान गरिएको थियो । त्यसै दिन नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रमसमेत सम्पन्न भएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *