बनेपा । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध सभाको आयोजना गरेको छ ।
शनिबार बिहान बनेपाको चारदोबाटोमा विरोध सभाको आयोजना गरिएको हो । विरोध र्याली बनेपाको चारदोबाटो हुँदै चाँदनीचोक पुगेर विरोध सभामा परिणत भएको थियो । सो कार्यक्रममा शाखा अध्यक्ष बिनोदकुमार न्यौपानले पत्रकार हत्यामा संलग्न जो सुकै भए पनि कारवाही गर्न माग गरे । संचारकर्मी र संचारमाध्यमप्रतिको आक्रमण कायरताको उपज भएको बताउँदै उनले नागरिकहरुको हक र अधिकारको रक्षाका लागि प्रेसको मुख थुन्ने कार्य बन्द गर्न चेतावनी दिए ।
सभामा महासंघका पूर्वअध्यक्षहरु भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, प्रेस चौतारीका अध्यक्ष केदार तिमल्सिना, प्रेस युनियनका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सेन्टरका रोजन तामाङ, फोटो पत्रकारका केशवराज पौडेल, फोनिजका इन्द्र थापा लगायतले श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
पत्रकारसँग आवद्ध संघ संगठनले घटनाको विरोध गर्दै विज्ञप्ति प्रकाशन गरेका छन् । पत्रकार सुरेश रजकलाई शुक्रबार राजावादी आन्दोलनकारीहरुले फोटो खिचिरहेका बेला घरभित्र थुनेर आगो लगाएर हत्या गरेका भिडियोहरु सार्वजनिक भएका छन् ।
