बनेपा । बनेपामा रहेको आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशनको शुरूवात गरेको छ । कार्यक्रमको बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले मंगलबार उद्घाटन गर्नुभयो । आयुर्वेद चिकित्सालयले १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने चिकित्सालयले जनाएको छ ।
सरकारले भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरे पनि बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्वर्णविन्दु प्राशन कार्यक्रम भने पूर्वनिर्धारित समयअनुसार नै सञ्चालन गरिएको चिकित्सालयका प्रमुख अर्जुन उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार इच्छुक अभिभावकले आफ्ना १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई निर्धारित समयमा ल्याई स्वर्णविन्दु प्राशन गराउन सक्नेछन् ।
स्वर्णविन्दु प्राशन आयुर्वेदमा बालबालिकाको प्रतिरक्षा क्षमता तथा शारीरिक–मानसिक विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रयोग गरिने परम्परागत विधि हो । आयुर्वेदिक मान्यताअनुसार निश्चित विधि र मात्रामा स्वर्णयुक्त औषधीय मिश्रण बालबालिकालाई प्राशन गराइन्छ । स्वर्णविन्दु प्राशनले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न, शारीरिक विकासमा सहयोग पु¥याउन, पाचनशक्ति तथा स्मरणशक्ति सुधारमा सहयोग गर्न र समग्र स्वास्थ्य प्रवद्र्धन गर्न उपयोगी हुने आयुर्वेद चिकित्सकहरूको धारणा छ ।
नियमित तथा चिकित्सकीय परामर्शअनुसार गरिने स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक र मानसिक विकासलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ । विशेषगरी बाल्यावस्थामा रोगसँग लड्ने क्षमता विकास गर्नु महत्वपूर्ण हुने भएकाले आयुर्वेद चिकित्सालयले अभिभावकलाई आफ्ना बालबालिकाको स्वास्थ्यप्रति सचेत गराउँदै यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
चिकित्सालयले स्वर्णविन्दु प्राशन आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श र निर्धारित विधिअनुसार मात्र गराउन अभिभावकलाई आग्रह गरेको छ । बालबालिकाको स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमता र समग्र विकासमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमबाट बनेपा तथा आसपासका क्षेत्रका बालबालिका लाभान्वित हुने चिकित्सालयको अपेक्षा छ ।
