हामीले गाउँघरमा पाइने बाँसलाई त्यति ध्यान दिएका हुँदैनौं । तर बाँस खासमा बहुउपयोगी वनस्पति हो भन्ने हामीले विर्सनु हुँदैन । मानिस जन्मिएदेखि मरेपछिसम्म पनि बाँस आवश्यक मानिन्छ । धार्मिक काममा त यसको प्रयोग गरिन्छ नै, यसका साथै बाँसबाट तरकारी, हस्तकलाका सामानहरु र बहुमूल्य दैनिक प्रयोजनका सामानहरु पनि बनाउन सकिन्छ ।
नेपालमा पाइने करिब ८० प्रजातीका बाँसमध्ये यो बेग्लै विशेषता भएको बाँस हो । यस बाँसलाई तामाको तरकारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ भने कागज र हस्तकलाका सामान बनाउन पनि सकिन्छ । अझ नेपाल जस्तो पहाडी देशका पहिरो गइरहने ठाउँहरुमा लगाउने हो भने यसले भूक्षय रोक्न पनि ठूलो सहयोग गर्छ ।
यो बाँस ग्रामिनी परिवारभित्र पर्ने पात नझर्ने एक ठूलो आकारको घाँस हो । बाँसको काठ जस्तै कडा घना, बलिया हाँगाहरु घनाको ढ्याङ्ग्रा र चक्रिय फूल फूल्ने जस्ता गुणहरुले गर्दा अन्य घाँसभन्दा फरक हुन्छ । मोसो बाँस गानोबाट छुट्टाछुट्टैरुपमा विकसित हुने प्रजाति हो । यस प्रजातिको झ्याङ्ग हुँदैन । मोसो बाँस पृथ्वीको शितोष्ण क्षेत्रमा पाइने सबैभन्दा ठूलो बाँस हो । यो सरदर ७५ फिटमा अग्लो र १८ सेन्टीमिटर डायमिटरको हुन्छ । मध्य पहाडी क्षेत्रमा यसको सफलतापूर्वक खेती गर्न सकिन्छ । यसको जरा उकालो र दायाँबायाँ सहजै फैलिन्छ भने ओरालोतिर कम फैलिन्छ ।
०६४ साल श्रावण महिनामा नेपाल वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले धनेश्वरको बैकिवा सामुदायिक वनमा पाँच सय बोट मोसो बाँसको विरुवाहरु रोपेको थियो । शुरुमा ७ रोपनी जमिनमा लगाइएको उक्त बाँस हाल १ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको छ । उत्तर मोहडाको सेपिलो जग्गामा यो बाँस छिट्टै मौलाउँछ । नर्सरीमा राम्ररी हुर्किएका विरुवाहरु रोप्दा राम्रो प्रतिफल भेटिएको छ । सानो र कलिलो विरुवाहरु कडा घाम र ठूलो पानीले धेरै विरुवाहरु मर्दछन् ।
सुरुसुरुमा बाँस सानै रहेकाले तरकारीलाई थाँक्रा दिने, डोको, डालो बुन्ने र सिन्का बनाउने काममा प्रयोग हुन्थे । पछि आएर ग्रिन ब्याम्बो क्रियशनलाई हस्तकलाका सामानहरु बनाउन बिक्री गर्न सुरु भयो । बनेपा–धनेश्वर निवासी बद्री अधिकारीले शुरु गर्नु भएको मोसो बाँस नर्सरीमा २ वर्षे विरुवाको दुई सय, ३ वर्षे विरुवाको तीन सय, ४ वर्षे विरुवाको चार सय दरले बिक्री वितरण गरिरहनु भएको छ ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, डिभिजनल वन कार्यालयहरु, स्थानीय सरकारी निकायहरु, वन तथा वातावरण संरक्षण मञ्च, ग्रिन ब्याम्बो क्रियशन, रिकफ्ट नेपाल, साहारा नेपाल, रुपान्तरण, आभारी जस्ता संस्थाहरुको यो बाँस विकास विस्तारमा साथ र सहयोग प्राप्त भइरहेको छ । यस्तो बहुउपयोगी बाँसलाई नेपालका पहिरो प्रभावित भागहरुमा लगाउने हो भने भूक्षय नियन्त्रण गर्न सकिन्छ । त्यसैले यसतर्फ सोच्नु अहिलेको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *