नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु नेपाल फिर्ता ल्याइएको छ ।
पुरातत्व विभागले ती मूर्तिहरुलाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो । यी मध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी)का रहेका छन् । यी पौवा चित्रहरु काठमाडौंस्थित इटुम्बहालबाट विस. २०३७ सालदेखि हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो ।
साथै आर्ट इन्ष्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान–१ (१२÷१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली सम्पदाहरु संसारको कुनैपनि कुनामा पुगेपनि नेपाली सम्पदाको महत्वलाई बुझेर सम्पदा फर्काउने योग्यता राख्ने बताउनु भयो । अब नेपालबाट कसैले पनि मूर्तिहरु चोर्ने कुचेष्ठा गर्न नसक्ने उहाँको दाबी थियो । विगतमा गएका चिजहरु अहिले फर्किनु पनि सकारात्मक रहेको जिकिर गर्नुभयो ।
विगतमा यस्ता किसिमका सम्पत्तीहरु कसरी विदेशिए ? भन्दै प्रश्न गर्नुभयो । अब दुराचार गर्ने समय नरहेकाले चोरी हुन नसक्ने बताउँदै उहाँले मूर्तिहरु प्रतिस्थापनका लागि आफूहरु प्रतिवद्ध रहेको र आर्थिक अवस्थाको चिन्ता नगर्न आग्रह गर्नुभयो । स्थानीय सरकारहरु आफ्नो आस्था जोगाउन अब सक्षम रहेको जिकिर गर्दै उहाँले आस्थाका धरोहरहरु विगतमा हराएका ठाउँमै प्रतिस्थापन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।
अहिलेसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्वका मूर्तिहरु तथा कलात्मक वस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन् । अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलियाजस्ता देशहरुबाट थप अरु केही कलात्मक वस्तुहरु फिर्ताको लागि कुटनीतिक पहल भइरहेको छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुहरुको संख्या १०४ पुगेको छ ।
यसरी हेर्दा धेरै प्रश्नहरु जन्मिएका छन्, ती मुर्तिहरु कसको मिलेमतोमा विदेशिए ? यहाँ मान्छे त काम नपाएर विदेश गएका थिए तर मुर्तिहरु के का लागि गए ? विमानस्थलको गेटबाट एउटा गलत सामान ल्याएको वा पठाएको तुरुन्तै थाहा पाउने सूरक्षा निकायले त्यत्रा टनका टन तौलका मुर्ति विदेशिँदै थाहा पाएनन् ? कसले कति कमिसन खाए होलान्, मुर्ति तस्करीमा ?
सानो तहका कर्मचारी वा सर्वसाधारणले यो काम गर्न सम्भव छैन । यसका लागि धेरैतिर सेटिङ मिलाउनु पर्छ । विगतमा जे भएका भए पनि अब यस्ता घटनाहरु नदोहोरिउन् । यस्ता काममा संलग्नलाई कारबाही गरेर विदेशिएका अर्बौं मूल्य पर्ने सामान फिर्ता ल्याउन सरकारले भूमिका निभाउन जरुरी छ ।
