पनौती । गणेश चौथी पर्व तथा महांकाल गणेश जात्राको अवसरमा पनौती नगरपालिका–८ खरिबोटमा सुकुन्दा र्याली सम्पन्न भएको छ । स्थानीय मौलिक संस्कृति, परम्परा तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको र्यालीमा स्थानीयवासी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । श्री महांकाल गणेश मन्दिर सुधार तथा व्यवस्थापन समितिको आयोजना तथा राधाकृष्ण मन्दिर कन्या पूजा समिति, खरिबोट र नेवा पुचःको सहआयोजनामा र्याली सञ्चालन गरिएको हो । कार्यक्रममा महांकाल गणेश मन्दिर सुधार तथा व्यवस्थापन समितिका अध्यक्ष गौरीनारायण श्रेष्ठले अध्यक्षता गर्नुभएको थियो ।
कार्यक्रममा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी प्रमुख अतिथि तथा नगर उपप्रमुख गीता बञ्जारा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै, पनौती नगरपालिका–८ का कार्यबाहक वडाध्यक्ष विश्वनाथ श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै सुकुन्दा र्यालीको मुख्य उद्देश्य मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु रहेको बताउनुभयो । उहाँले पछिल्लो समय विभिन्न कारणले परम्परागत संस्कृति तथा चाडपर्वहरू लोप हुँदै गइरहेको अवस्थामा यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सुकुन्दा र्याली विगत छ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ । गणेश चौथी तथा महांकाल गणेश जात्राको अवसरमा देशका विभिन्न स्थानमा समेत यसै दिन सुकुन्दा र्याली तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेको जानकारी कार्यक्रममा दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले संस्कृति र परम्परा समाज तथा समुदायको पहिचान भएको बताउनुभयो । उहाँले पनौतीमा विभिन्न जात्रा, पर्व तथा उत्सवहरू अझै जीवन्त रूपमा सञ्चालन भइरहेकोमा खुसी व्यक्त गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो । “हामीले हाम्रो संस्कृति जोगाउनुपर्छ । धेरै ठाउँमा संस्कृति हराउँदै गएको अवस्थामा पनौतीमा विभिन्न जात्रा तथा उत्सवहरू अझै कायम छन् । यिनीहरूको संरक्षण गर्नु हाम्रो कर्तव्य हो,” नगरप्रमुख भण्डारीले भन्नुभयो । उहाँले यस्ता मौलिक संस्कृति संरक्षणका कार्यक्रमलाई नगरपालिकाले आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, पनौती नगरपालिका–८ का कार्यबाहक वडाध्यक्ष विश्वनाथ श्रेष्ठले जात्रा, पर्व तथा सांस्कृतिक गतिविधि समुदायको पहिचान भएको बताउनुभयो । नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिले समृद्ध देश भएकाले हरेक समुदायका आफ्नै मौलिक परम्परा रहेको उल्लेख गर्दै तिनको संरक्षण सबैको साझा जिम्मेवारी भएको उहाँको भनाइ थियो ।
नगर उपप्रमुख गीता बञ्जाराले विगतमा सामान्य रूपमा मनाइँदै आएको सुकुन्दा र्याली पछिल्लो समय थप व्यवस्थित र भव्य रूपमा आयोजना हुन थालेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस्ता मौलिक पर्व तथा सांस्कृतिक उत्सवलाई पनौती नगरपालिकाका १२ वटै वडामा संरक्षण र निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उपप्रमुख बञ्जाराले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र पर्वसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा महांकाल गणेश मन्दिर सुधार तथा व्यवस्थापन समितिका अध्यक्ष गौरीनारायण श्रेष्ठले कार्यक्रममा उपस्थित अतिथि, स्थानीयवासी, आयोजक तथा सहआयोजक संस्थालगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मौलिक संस्कृति तथा परम्पराको संरक्षणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुकुन्दा र्यालीले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक संस्कृतिप्रति आकर्षित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकको छ । र्याली पनाैतीका विभिन्न ठाउँमा पुगेकाे थियाे ।
