बनेपा । बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार शुरु गरेको एक वर्ष नाघेको छ । नगरपालिकाको कृषि शाखाले पहिलोपटक गत वर्षको चैत १५ गते शुक्रबारदेखि हाटबजार सञ्चालनमा ल्याएको थियो । अब उपभोक्ताको माग र स्थानीय व्यापारीहरुसँगको समन्वयमा हप्ताको दुई पटक हाट बजार सञ्चालनको तयारी भइरहेको बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले जानकारी दिनुभयो ।
हाटबजार सञ्चालनमा आएसँगै किसान र उपभोक्ताहरु खुशी भएसँगै स्थानीय उत्पादनले पनि बजार पाएको छ । त्यसैले यसलाई विस्तार गर्न लागिएको शाक्यले बताउनुभयो ।
हाटबजारमा बनेपा र आसपासका किसानहरु आफैंले तरकारी बेचिरहेका छन् भने बिचौलियालाई नख्वाइ उपभोक्ताले पनि किसानसँगै तरकारी खरिद गर्न पाएका छन् । दुःख गरी उत्पादन गरेको तरकारी आफैँले बेच्न पाएपछि धेरै आम्दानी गर्न सकिने किसानहरुको अनुभव छ । उत्पादन राम्रो हुने गरेको तरकारी ठेकेदारको भाउमा दिनुभन्दा आफैँले बेच्न पाएमा धेरै आम्दानी गर्न सकिने किसानहरु बताउँछन् ।
“बजारमा बेच्न लगेपछि ठेकेदारले जति दियो, त्यति नै थापेर जानुपर्ने हुन्थ्यो, यहाँ ल्याएर आफैँले बिक्री गर्दा त्यहाँको भन्दा निकै फाइदा हुँदोरहेछ,” स्थानीय किसान श्याम मिजारले बताउनुभयो । यसरी सधैँजसो आफँैले सिधै बेच्ने ठाउँ पाएमा धेरै फाइदा लिन सकिने उहाँको भनाइ छ ।
हाटबजारमा लप्सीका क्यान्डीहरु, फलफूल, दूधजन्य उत्पादन, तरकारी, कपडालगायत खरिदबिक्री हुने गरेको छ । किसानले आफ्ना उत्पादनहरु सिधैँ उपभोक्तामाझ बिक्री गरेर आम्दानी लिन सकुन् भनेर हाटबजार सञ्चालन गरिएको र छोटो समयमै यसमा किसान तथा उपभोक्ताको आकर्षण बढेको प्रमुख शाक्यको भनाइ छ ।
गत वर्ष फागुनमा बनेपामा गरिएको कृषि महोत्सवबाट हरेक पालिकामा हाटबजारको आवश्यकता परेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कुलमणि दवाडी बताउनुहुन्छ । त्यस लगत्तै बनेपा नगरपालिकाले यसको शुरु गरेको थियो । बनेपा नगरपालिकाको पुरानो बजार क्षेत्रको ठाउँ लायकु मञ्चमा कृषि शाखाले उक्त हाटबजार सञ्चालनमा ल्याएको हो । नगरपालिकाले हाल हरेक शुक्रबार सो ठाउँमा सञ्चालन गर्नेगरी ‘स्थानीय उत्पादन उपभोग गरौँ, स्थानीय उत्पादन बढाऔँ, दैनिक उपभोग्य वस्तु किनमेलका लागि लायकु हाटबजार जाऔँ’ भन्ने नाराका साथ हाटबजार सञ्चालनमा ल्याएको हो । सस्तो, ताजा, गुणस्तर र कम मूल्यमा सामान किन्न पाउने गरी सञ्चालनमा ल्याइएको हाटबजारबाट उपभोक्ता र कृषक दुवैका लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
