उद्धव पौडेल
नेपाली संस्कृति सहिष्णु, उदार परोपकारी, सर्वब्यापी हिन्दू संस्कारमा बढी लिप्तछ । समय मासm पक्ष गते तिथि, बार आदिमा वैशिष्ट्यता राख्ने पर्वहरु मध्ये श्रावणमास शुक्लपक्ष पञ्चमि तिथि विशेषलाई नागपूजन गर्ने तिथिका रुपमा नेपाली संस्कृतिले अंगाल्दै आएको छ ।
यस अर्थमा नेपाली संस्कृतिले चरा, जनावर, पशु आदि विशेषको पनि पूजा गर्दै आउने परम्परा यद्यपि कायमै छ । यसैले के देखाउँछ भने नेपाली परम्परा मानवलाई मात्र मान्दैन प्रकृति यावत जीन जीवात्मा, सवैको पूजा संस्कार सम्मान आदर गर्छ भन्ने पुष्टि गर्छ । यस्तै भएर नै हो नेपाली संस्कृति पर्रम्परा रीतिरिवाज पर्व संस्कारहरुको छुट्टै दिशेषता र महत्व रहेको छ ।

यत्राहिसायि भगवान यत्रास्ते हरिरिश्वर
भङ्गो भवति बज्रश्य तत्रशूलंस्यका कथा ।।
अनन्तो वासुकी पदम महापद्म च तक्षक
कुलिक कर्काेट शंख अष्टौ नाग प्रकिर्तिता ।।

नेपाली संस्कृति परम्परामा सर्प अर्थात् नागहरुको नि पूजा हुन्छन् । सर्प अर्थात् नाग जातिको पूजा गर्नाका लागि नागपञ्चमी नामक तिथि जुन श्रावण शुक्ल पक्षको पञ्चमी तिथिलाई मानिन्छ । यो पर्व उत्सव नाग पूजन गर्ने दिनले प्रसिद्धि पाएको छ । यस दिन प्रायः सबै जातजातिहरुले आ–आफ्नो घरको मूलढोकामा नागदेवको विभिन्न प्रकारका मूर्ति प्रतिकृति बनाएर टाँसेर स्थापना गरेर पूजा गर्छन् । त्यस्तै शेषनाग माथि शयन गरेका शेषशायी भगवान् विष्णु अंकित नागको फोटो÷प्रतिमा बनाएर चित्र कोरेर स्थापना गरी पूजा गरिन्छ । सेतो फूल, गाइको दूध, सेतो चन्दन, धान भुटेको फूल लाजा आदि चढाई नागको पूजा हुन्छ । सेतो वस्त्र सबै प्रकारका सेतो नागलाई मनपर्ने वस्तु हुन् ।
नागलाई सहकालका देवता धन सम्पत्तिका राजा मणिमाणिक्य हिरा मोती सुनका खानी भएको देवताको रुपमा पनि नागलाई मान्ने गरिन्छ । वर्षा गराउने पानीको मूलमा बस्ने रिसाएका समयमा विघ्न बाधा गराउने भनेर पनि नागलाई सद्भावका साथ पूजा गरिन्छ । घर करेसा सफा राख्ने, सेतो फूलको बोट बिरुवा मुनि नाग मन्दिर स्थापना गर्ने, पानी तलाउ पोखरीको बीचमा नागमूर्ति स्थापना गर्ने, कुवा धारा, पानी पँधेरोमा नागको बास रहने जनविश्वास पनि रहिआएको छ । नाग रिसाउँदा शरिरमा घाउ खटिरा आउने, घरकरेसामा आएर दुःख दिने, वस्तुभाउलाई तर्साउने जस्ता काम नाग बेखुशी भएमा हुने जनविश्वासका कारण नेपाली संस्कृतमा सदैव नागलाई खुशी राख्न बेला बेला समय मूहुर्तमा पर्व पारेर नाग पूजा गरिन्छ । पहिलो बाली पाकेपछि नागलाई चढाएर खाने प्रचलन पनि रहि आएको छ ।
वैदिककालमा भगवान् श्रीकृष्णले ज्यादै दुःख दिएकाले कालिन्दीय नाग कालो नाग मारेर भक्तहरुको रक्षा गरेको, समुद्रमन्थन गर्दा कालोकुट नाम विष निस्केर देवतालाई जलाउन लाग्दा शिवले पान गरेको, घाँटिमा त्यो विष राखेकाले लिनकण्ठ नाम रहेको पनि भनाई पुराण शास्त्रहरुमा पाउन सकिन्छ । आफ्ना बाबु परिक्षितलाई ऋषिको श्राप परेबाट तक्षक नाम गरेका नाग (सर्पले) टोकेर मारेको खबरले जन्मेजयले पृथ्वीका सबै सर्प नाश गर्ने यज्ञ शुरु गरेको र सो समयमा ऋषि पुरोहितहरुले यसरी सर्प नाश गर्नु उचित हुँदैन भनेर सर्पहरुलाई मार्न नहुने उपदेश दिएको पनि कथाहरु सुन्नमा आएका छन् ।
नागलाई दुध खुवाएर खुशी पार्नु पर्ने भएकाले गाइको दूध चढाएर पूजा गरिन्छ । नाग खुशी भएमा राम्रो हुने र रिसाएमा बाढी पहिरो जस्ता प्रकृतिमा विपत्ति आइलाग्ने जनविश्वास रहिआएकाले श्रद्धा र आदरभावपूर्ण तरिकाले नागको पूजा गरिन्छ ।
विभिन्न पुराण ग्रन्थहरुमा नागहरुको आस्था, सम्मान गर्नाले उचित र उपयुक्त फल प्राप्त हुने कुरा पनि बताइएको पाइन्छ । जसअनुसार भविष्य पुराणमा नागको पूजा अर्चना गरी दुध चढाएर आदरपूर्वक पूजा गर्नाले प्राकृतिक पर्यावरणलाई सन्तुलनमा राख्ने कुरा बनाइन्छ, यसले प्रकृति र पर्यावरणसँग नागदेवको सम्बन्ध रहेको वैज्ञानिक महत्व समेत प्रष्ट पार्दछ । त्यस्तै नारदपुराणमा नाग पञ्चमीको दिन नागपूजा गर्नाले सर्पदंश, सर्प भयबाट कोही कसैको अकाल मृत्यु नहुने कुरा बताइन्छ । गरुडपुराणमा जलाशय, कुवा, धारा, पानीको मुहान आदि आसपासमा सफा राखी नागस्थान बनाइ पूजा गर्नाले सुख, समृद्धि र आरोग्य प्राप्त हुने कुरा बताइन्छ ।
पहिला काठमाडौंमा पनि नागहरुको बासस्थान भएको बताइन्छ । नागपोखरी, टौदह, टेकु र कर्काेटक नागले बास गरेकोले अहिले पनि नागपोखरीमा यस दिन पर्व मेला नै लाग्ने गर्दछ । हरेक तलाउ पोखरी, ताल, तलैयामा हरेक प्रकारका नागहरु रहने, विश्वास भएर नै पोखरीहरुमा नागको मूर्ति स्थापना गर्ने, मानिसका घर छाना, टुडाल पालीहरु नागमूर्ति बनाउने मन्दिरहरुमा पनि नागचित्र बनाएर स्थापना गर्ने जस्ता परम्पराहरु यथावत् रहिआएको छ ।
पशुपतिनाथमा बासुकी नाग स्थापना भएको छ । त्यसै बुढानिलकण्ठमा विष्णु भगवान् शेषनागमा शयन गरेको चित्र आकृति कुँदिएको छ । शिवजीवले सर्पको माला नै लगाएर सर्पप्रति देखाएको आदरभाव अतुलनीय छ ।
अतः नेपाली हिन्दू धर्म संस्कृतमा नागको महिमा, महत्व बताएर बताइ सकिँदैन । यहाँ संक्षिप्तमा मात्र नागपञ्चमीको महत्व नागपूजाको महत्व प्रकाश पार्ने प्रयास गरिएको छ । विद्धान्, धार्मिक र सर्प विशेषज्ञहरुबाट थप सुझाव पाउने आशाका साथ यो नागपूजन पर्वको छोटो बखान गरेको छ । टुटफुटप्रति क्षमा चाहन्छु । यस वर्ष २०८२ श्रावण २३ गते नागपञ्चमी पर्व रहेको स्मरण गराउन चाहन्छ । नाग पूजनको विशेष बार सोमबा र बृहस्पति बार उत्तम मानिन्छ भने महिनामा श्रावण, भाद्र, मंसिर, वैशाख बढि महत्व रहेको छ ।
नमोबुद्ध–९, दाप्चा, काभ्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *