बनेपा । काभ्रेपलाञ्चोकस्थित आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारणसभा आगामी कात्तिक २१ गते शनिबार आयोजना गर्ने भएको छ । संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार बनेपास्थित स्मार्ट प्यालेसमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म साधारणसभा सञ्चालन हुनेछ ।
संस्थाको २०८३ साउन ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय तथा संस्थाको विनियम र सहकारी ऐन, २०७४ को व्यवस्था अनुसार साधारणसभा आयोजना गर्न लागिएको हो । साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को सचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने विषय पनि सभामा प्रस्तुत गरिनेछ । आगामी आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित वार्षिक कार्ययोजना र बजेटमाथि छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत साधारणसभामा पेस हुनेछ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को शेयर लाभांश वितरण तथा संरक्षित पुँजी फिर्ता कोषको रकम व्यवस्थापनसम्बन्धी विषयमा समेत छलफल हुने संस्थाले जनाएको छ। यसका अतिरिक्त संस्थाका आन्तरिक कार्यविधि संशोधन, सञ्चालक समितिका पदाधिकारीको सेवा सुविधा तथा प्रमुख प्रबन्धकको पारिश्रमिक निर्धारण, संस्थाको स्थिर सम्पत्ति तथा लिलामबाट प्राप्त सम्पत्ति बिक्री गर्ने प्रस्ताव पनि छलफलका कार्यसूचीमा समेटिएका छन् ।
साधारणसभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनोट गर्ने तथा विविध विषयमा समेत छलफल गरिनेछ। संस्थाका सचिव धर्मभक्त प्रधानले साधारणसभामा उपस्थित भई प्रस्तावित विषयहरूमा छलफल तथा निर्णय प्रक्रियामा सहभागी हुन सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरेका छन् ।
