काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली चलचित्र सामाजिक विषयवस्तुहरुमा मात्र केन्द्रीत भएका छैनन् । निर्माताहरुले कुनै चर्चित व्यक्तिका जीवनमा घटेका घटनाहरुमा केन्द्रीय रहेर पनि चलचित्र बनाउन थालेका छन् । यसअघि पनि यस्ता केही चलचित्र बनाइसकिएको अवस्थामा हालै मात्र काभ्रेको पनौती स्थायी ठेगाना रहेर लामो समय हवाई क्षेत्रमा सक्रिय रहेका क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र बन्ने भएको छ ।
उनको जीवनका घटनाहरु चलचित्रका रुपमा हेर्न सकिने चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । गत असार २६ गते काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमीसमेत हुन् ।
‘क्याप्टेन साब’ को मूर्हत सटमा व्यवसायी डा. उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो । पटकथा प्रोडक्सनको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।
दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै चलचित्रमा यी तीन जनाको यो पहिलोपटक सहकार्य हुन लागेको हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् । कृष्णबहादुर थापा छायाँकार रहेको चलचित्रको छायाँकन काठमाडौंसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । यो चलचित्र भदौको पहिलो साताबाट छायाँकनमा जाने निर्माणपक्षले जनाएको छ ।
यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो चलचित्रमा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित रहेकी छिन् । निर्देशक दिपेन्द्र के खनालकै लेखन रहेको चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक रहेका छन् ।
