धुलिखेल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक टोलीले जिल्ला मालपोत कार्यालय काभ्रेमा गत हप्ता बुधबार छापा मारेको छ ।
बिहान ११ बजेतिर अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हो । सो क्रममा खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख नगदसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।
भण्डारीविरुद्ध काभेपलाञ्चोकको तत्कालिन दोलालघाट गाविसमा रहेको फिल्डबुकमा दर्ता छुट भएका जग्गाधनीका नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा आयोगको एक टोलीले उनलाई सेवाग्राहीसँग लिएको २ लाख घुस र एउटा मोबाइलसहित मालपोत कार्यालयबाट नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगिएको छ ।
