धुलिखेल । विभिन्न कारागारबाट फरार भएका ३७ थुनुवा तथा कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेर सम्बन्धित कारागार कार्यालयहरुमा पठाइएको जनाएको छ ।
भदौ २४ गते भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै विभिन्न कारागारहरूबाट फरार भएका बन्दी तथा थुनुवालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार यस कार्यालय तथा माताहत कार्यालयहरूबाट ड्युटीमा खटिएको प्रहरी टोलीले वडा एरिया अन्तर्गत विभिन्न स्थानहरूबाट ती बन्दीलाई नियन्त्रणमा लिई सम्बन्धित कारागार कार्यालयमा पठाएको छ ।
जसमा कर्तव्य ज्यान मुद्दाका १२ जना, जबरजस्ती करणी मुद्दाका ९ जना, लागूऔषध कारोबारी ४ जना, चोरी गर्ने ४ जना, अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका २ जना, ओभर स्टेका एक जना, ठगीसम्बन्धी मुद्दाका २ जना र मानव बेचबिखनसम्बन्धी मुद्दाका १ जना गरी ३७ जना लाई पक्राउ गरिएको हो ।
पक्राउ पश्चात् १८ जनालाई केन्द्रीय कारागार, १४ जनालाई डिल्लीबजार, ३ जनालाई नख्खु कारागार र २ जनालाई सिन्धुली कारागार पठाइएको प्रहरीले जनाएको छ ।
बनेपाबाट ७ सय ३० राउण्ड गोलीसहित ७ जना पक्राउ
यसैबीच काभ्रे प्रहरीले बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ७ जनालाई पक्राउ गरेको छ । भदौ २८ र २९ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएर गएका प्रहरी अधिकृतसहितको टोलीले खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नम्बर ९ का २६ वर्षीय सिजन सुवाल, सोही वडाका २८ वर्षीय सुवास गौतम, बनेपा ९ कै ३४ वर्षका अछुत खड्का, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेका छन् ।
यस्तै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र रामेछापको उमाकुण्ड–४ का २३ वर्षीय प्रविन कार्कीलाई शनिबार काभ्रे जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।
