गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि देशमा एकाएक राजनीतिक उथलपुथल भएको छ । प्रतिनिधि सभा विघटनसँगै नयाँ चुनावको घोषणा भएको छ । यी दुई दिनमा यति ठूलो मानवीय र भौतिक क्षति भयो कि जुन कल्पना पनि गरिएको थिएन । यो सबैको पछाडि नेपालका राजनीतिक दलहरुप्रति नागरिकको वितृष्णा नै मुख्य कारण भएकोमा दुईमत छैन ।
यी दुई दिनमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा जेनजी प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलगायत महत्वपूर्ण भवन र संरचना क्षति भएका छन् । काठमाडौंका विभिन्न ठाउँमा ‘जेनजी’ समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन, रामशाहपथमा रहेको सर्वाेच्च अदालत र नयाँ बानेश्वरमा रहेको संघीय संसद भवन र राष्ट्रपति भवन आगलागीबाट ध्वस्त भए ।
प्रदर्शनकारीले रामशाहपथमा रहेको महान्यायाधिवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयमा समेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी भएको छ ।
प्रदर्शनमा देशभर ७४ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ ।
सरकारले भदौ १८ गतेदेखि देशभर संचालनका रहेका २६ सामाजिक संजालहरु दर्ता हुन नआएको भन्दै एकाएक बन्द गर्ने निर्णय गर्यो । त्यसपछि चौतर्फी दबाबले पनि सरकारले संचालन गरेन बरु थप कडाइका साथ बन्द गर्दै लगेपछि भदौ २३ गते २८ वर्षसम्मका युवाहरुले स्वतःस्फुर्तरुपमा शान्तिपूर्ण प्रदर्शनको आयोजना गरे । तर सरकारले सो प्रदर्शनमा प्रहरी परिचालन गरि प्रदर्शनकारीमाथि गोली प्रहार गरि १९ जनाको हत्या गरेपछि स्थितीले अर्कै मोड लियो । भदौ २३ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनीमा प्रहरी कारबाहीमा १९ जनाको ज्यान गएपछि २४ गतेको प्रदर्शनले उग्ररूप लिएको थियो ।
यसरी आन्दोलनले जुन क्षति भयो, न विगतमा भएको थियो, न अब होला । यसमा दलहरुले युवाहरुका माग सम्बोधन नगरेका कारण यति धेरै अकल्पनिय क्षति भएको हो । अब पनि दलहरु सच्चिएर अघि बढेनन् भने देशले थप क्षति भोग्नुपर्ने अवस्था छ । यसतर्फ सबै दलहरुले सोच्नु आवश्यक भइसकेको छ । भ्रष्टाचारमुक्त देश बनाउन जरुरी छ ।
