पनाैती । अबदेखि काभ्रेपलाञ्चोकबाटै सवारीचालक अनुमतिपत्र छपाइ हुने भएकाे छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले काभ्रेकाे पनाैती नगरपालिका वडानम्बर ५ स्थित श्रीखण्डपुरमा रहेकाे सुरक्षण मुद्रण केन्द्र पुगेर छपाइ कार्यको औपचारिक शुभारम्भ गर्नुभयाे ।
यातायात व्यवस्था विभागले पहिलो चरणमा काभ्रेस्थित सुरक्षण मुद्रण केन्द्रमार्फत शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र छपाइ थालेकाे हाे । यस क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले मुद्रण केन्द्र पुगेर छपाइ कार्यको शुरुवात गर्नुभएकाे हाे।
सुरक्षण मुद्रण केन्द्रमा अब दैनिक करिब ५ सयप्रति सवारीचालक अनुमतिपत्र छापिनेछन् । सम्पूर्ण प्रक्रिया पूरा भएपछि ६ महिनाभित्र १२ लाखप्रति चालक अनुमतिपत्र छाप्ने लक्ष्य रहेकाे केन्द्रका कार्यकारी प्रमुख देवराज ढुंगानाले जानकारी दिनुभयाे । यससँगै अब नाै प्रकारका कार्डहरु केन्द्रले छपाइ गर्ने उहाँले बताउनुभयाे । जसमा हुलाक टिकट, अन्तःशुल्क स्टिकर, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, एटिएम कार्डलगायत रहेका छन् । यी कार्डहरु छपाइका लागि वर्षेनी अर्बाैं रुपैंयाँ विदेशिने गरेकाेमा अब स्वदेशमै कार्ड छाप्दा याे पैसा बचत हुने भएकाे छ ।
यहाँ काम गर्न आइपरेका विविध समस्याहरु र नीतिगत समस्याहरु रहेकाे थाहा पाएपछि आफूले शुरुमै समस्या सल्टाउँदै सुरक्षण मुद्रण केन्द्रबाट केही काम त गराैं भनेर प्रक्रिया अगाडि बढाइएकाे बताउँदै मन्त्री खरेलले शुरुवातमा सवारी चालक अनुमतिपत्र छाप्न शुरु भएकाे बताउनुभयाे । मुद्रण केन्द्रमार्फत छपाइ गर्दा पहिलेको तुलनामा प्रति कार्ड रु. १०० सस्तो पर्ने भएको छ। यसले सरकारलाई खर्च बचतसँगै चालक अनुमतिपत्र वितरण प्रक्रियामा सहजता ल्याउने मन्त्री खरेलले जानकारी दिनुभयाे ।
