यस वर्षको जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो ।

गत अक्टोबरको तथ्याङ्कलाई हेर्दा, युरोपबाट ४० हजार ५०० र दक्षिण एसियाबाट २९ हजार ६० पर्यटक आएका छन्, जसले गर्दा यो महिनाको कुल सङ्ख्या प्रभावशाली देखिएको छ ।

अक्टोबरमा नेपाल भ्रमण गर्ने पर्यटकहरूमा भारतबाट सबैभन्दा धेरै १७ हजार २९८ जना रहेका छन् । त्यसपछि अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, र जर्मनीबाट छ हजार ३६६ जना पर्यटक नेपाल आएका थिए ।

यसरी प्रमुख स्रोत बजारहरूबाट पर्यटकको आगमन बढ्दा नेपालको पर्यटन क्षेत्रमा थप उत्साह थपिएको छ । यता चार महिनाको अवधिमा मुस्ताङमा दुई लाख २३ हजारभन्दा बढि स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् । मुस्ताङ जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि कात्तिक महिनासम्म दुई लाख २३ हजार ५९ जनाले सडक, पदमार्ग तथा हवाई मार्ग हुँदै मुस्ताङ प्रवेश गरेका हुन् ।

चार महिनाको अवधिमा ८९ हजार ३४० पुरूष, ७१ ह्जार ५८९ महिला गरी एक लाख ६० हजार ९२९ जना स्वदेशी पर्यटक र २४ हजार ५४५ पुरूष, १६ हजार ८७८ महिला, अन्य ७ जना गरी ४१ हजार ४३० विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् । सबैभन्दा धेरै पर्यटक कात्तिक र सबैभन्दा थोरै साउन महिनामा रहेको छ । यस अवधिमा दुई पाङ्ग्रे तथा अन्य सवारीसाधनमा ५४ हजार ५१ घाँसा हुँदै प्रवेश गरेको देखिन्छ ।

मुस्ताङमा वैशाख, जेठ र असोज र कात्तिक महिनामा थामिनसक्नु पर्यटकको भिड लाग्ने गरेको छ । मुस्ताङमा जाडोयाममा समेत पर्यटकको आगमन रोकिएको छैन । कात्तिक महिनाको ३० गते बेनी–जोमसोम सडकखण्ड अन्तर्गत घाँसाबाट २१ सय ८७ जना, हवाई मार्गबाट १९ जना प्रवेश गरेका छन् । मनाङ जिल्ला हुँदै थोरङला पासबाट दुई सय एक जना, प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा १३ सय ९० जनाले दर्शन गरेको तथ्याङ्कमा देखिन्छ ।

यसरी देशको राजनीतिक अवस्था उथलपुथल हुँदा त यति धेरै पर्यटक आइरहेका छन् भने राजनीतिले राम्रो मोड लिने हो भने झन कति राम्रो हुन्थ्यो होला । यसर्थ पर्यटक आगमनको यो अवस्थालाई थप सुधार गर्न जरुरी छ । यसका लागि सर्वपक्षिय सहयोगको खाँचो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *