धुलिखेल । काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त (पहिलो चरण) मङ्सिर २४ गते बुधबार सम्पन्न भएको छ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना केयू परिसर धुलिखेलमा सम्पन्न समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनसमेत सहभागी हुनुभयो ।

समारोहमा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. सान्तीश्री धुलिपुडी पण्डितले प्रमुख आतिथ्यता ग्रहण र दीक्षान्त सम्भाषण गर्नुभयो । रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले सञ्चालन गर्नुभएको समारोहमा उपकुलपति प्रा. डा. अच्युत वाग्लेले विश्वविद्यालयका तर्फबाट स्वागत मन्तव्य दिनुभएको थियो ।

समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्ट्सका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी यसपटक दीक्षित भएका छन् ।

दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहनेछन् । दीक्षितमध्ये पुरुष ५२.२४ प्रतिशत (१ हजार १ सय ५४ जना) र महिला ४७.७६ प्रतिशत (एक हजार ५५ जना) रहेका छन् । दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका, र भियतनाम गरी १७ देशका १९६ जना विदेशी विद्यार्थी रहेका छन् ।

काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत Master of Philosophy by Research in Mathematics मा १ जना र Bachelor of Science in Agriculture मा २९ जना दीक्षित हुनेछन् । त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलोपटक Master of Medical Research मा २० जना दीक्षित भए ।

उच्च शिक्षा रूपान्तरणका लागि व्यापक सुधार आवश्यक: प्रधानमन्त्री

काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले नेपालमा उच्च शिक्षा रूपान्तरणका लागि व्यापक सुधार आवश्यक रहेको बताउनु भयो । युवापुस्ताको बदलिँदो सोच र नयाँ राजनीतिक परिस्थितिले आफू प्रधानमन्त्री बनेको उल्लेख गर्दै उनले राष्ट्रिय आकांक्षा पूरा गर्न गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिका अवसर मुलुकमै सुनिश्चित गर्नुपर्ने आवश्यकता जोड दिनुभयो ।

प्रधानमन्त्री कार्कीले विश्वभर उच्च शिक्षामा आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटी, बसाइसराइको प्रवृत्ति र वैश्विक भूराजनीतिक परिवर्तनका कारण अभूतपूर्व रूपान्तरण आइरहेको बताउँदै नेपालमा पनि ती परिवर्तनको आकांक्षा बढ्नु स्वाभाविक रहेको उल्लेख गर्नुभयो । तर आवश्यक लगानी न्यून भएकाले अब उच्च शिक्षा क्षेत्रमा ठूलो मात्रामा लगानी वृद्धि पहिलो शर्त भएको उहाँको भनाइ थियो ।

उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता भएको बताउँदै उहाँले शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले क्षेत्रलाई वर्षौंदेखि कमजोर बनाएको स्वीकार गर्नुभयो । उहाँले शिक्षामन्त्री महावीर पुनले उपकुलपति, शिक्षाविद् तथा अन्य सरोकारवालासँग परामर्श जारी राखेकाले शैक्षिक व्यक्तित्व कुलपति बन्ने व्यवस्था कानुनीरूपमा लागू गर्न सरकार प्रतिबद्ध रहेको जनाउनुभयो ।

उपकुलपति प्रा. डा. अच्युत वाग्लेले नेपालमा उच्च शिक्षा क्षेत्र गम्भीर चुनौतीको रुपमा रहेको बताउनुभयो । उच्च शिक्षाको राष्ट्रिय विकाससँगको सम्बन्ध कमजोर हुनु, अध्ययनपछि रोजगारीको अनिश्चितता, न्यून लगानी र पछिल्ला पाँच वर्षमा लाखौं विद्यार्थी विदेशिनुजस्ता कारणले उच्च शिक्षामा संकट गहिरिंदै गएको उहाँको भनाइ थियो । जेनजी पुस्ताले शिक्षाबारे स्पष्ट अपेक्षा राख्ने भएकाले विश्वविद्यालयहरूले प्रतिस्पर्धी र सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय रुचिमा बृद्धि
काठमाडौँ विश्वविद्यालयमा विस्तारै बढ्दै गएको विदेशी प्राध्यापक, शोधकर्ता र विधार्थीको रुची समग्रमा नेपाल कै उच्च शिक्षाका लागि पछिल्ला वर्षको महत्वपूर्ण उपलब्धि हो । ‘Teach–In Program’ अन्तर्गत विश्वविद्यालयले सन् २०२५ मा पहिलोपटक सुरु गरेको यस कार्यक्रमले विदेशी प्राध्यापकलाई केयुका प्राध्यापक भन्दा ५० प्रतिशत बढी भत्ता दिने नीति बनायो । सुरुमा जोखिमपूर्ण देखिएको यो प्रस्तावप्रति विश्वभरबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया आयो । केबल एक महिनाभित्रै विश्वका विभिन्न देशबाट ४५० भन्दा बढी प्राध्यापकले आवेदन दिए । यी तथ्यले बोल्छन्, काठमाडौँ विश्वविद्यालय एउटा अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रको रूपमा विस्तार हुँदैछ । यही कार्यक्रमअन्तर्गत स्कुलले विदेशी प्राध्यापक भित्र्याउने काम उल्लेखनीय रूपमा अघि बढाएको र केही स्कुलहरुले यसमा उल्लेख्य सफलता पनि हासिल गरेका छन् ।

स्कुल अफ आट्र्सको तथ्यांक अनुसार, प्राप्त ४५० आवेदकमध्ये कैयौँको विषयगत रुचि र विशेषज्ञता स्कुलका कार्यक्रमसँग मेल खाएको थियो । अहिलेसम्म करिब आठ जना अन्तर्राष्ट्रिय प्राध्यापकसँग—दुई प्राध्यापक, तीन सह–प्राध्यापक र तीन सहायक प्राध्यापक तहमा— करार सम्झौता भइसकेको छ, र अरू तीन जनासँगको सम्झौता अन्तिम चरणमा पुगेको छ भने ब्राजिल, अमेरिका, बेलायत, दक्षिण कोरिया, जर्मनी र चीनका प्राध्यापक नेपाल आएर अध्यापन सुरु गरिसकेकामा छन् भने स्कुल अफ एजुकेसनमा अहिले ताइवान, भारत, नर्डिक मुलुक र अमेरिका गरी चार देशका विदेशी प्राध्यापक शिक्षणमा संलग्न छन् । यस्तो विविधता नेपालकै विश्वविद्यालय इतिहासमा दुर्लभ छ ।

विदेशी प्राध्यापकसँगै स्कुल अफ आट्र्समा विदेशी विद्यार्थीको उपस्थिति पनि उल्लेखनीय छ । विद्यावारिधी तहमा मात्र यस वर्ष १८ विदेशी विद्यार्थी भर्ना भएका छन् भने शहरी अध्ययन (Urban Studies) स्नातकोत्तर तहमा दुई विदेशी विद्यार्थी अध्ययनरत छन्, ब्याचलर इन कम्युनिटी डेभलपमन्ट (स्नातक) तहमा पनि चिनियाँ र ब्राजिल गरी दुई देशका विद्यार्थी अध्ययनरत छन् भने मिडीया अध्ययनमा ७ जना, योगिक साइन्समा ४ जना । स्कुल अफ एजुकेसनमा विद्यावारिधी तहमा १० जना, एमफीलमा २, अन्य विद्यामा १० गरि २२ जना छन् । त्यस्तै साइन्स र इन्जिनियरिङमा विद्यावारिधी तहमा १, १ जना साइन्स अन्तर्गतको वातावरणीय विज्ञान स्नातक र स्नातकोत्तर तहमा ८ जना । यो तस्बिर नेपाली विश्वविद्यालयहरूका लागि आफैमा नौलो हो भने समाज विज्ञान र शिक्षा तथा वातावरणीय अध्ययन विषयहरुमा बढिरहेको आकर्षणले समग्र नेपालको उच्चशिक्षा क्षेत्रमा आशा जोगाउने अवस्था बनेको छ भन्न सकिन्छ ।

३१औं दीक्षान्त (पहिलो चरण) सहित गरी हालसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको सङ्ख्या ५ हजार ८६० अर्थात करीब १२ प्रतिशत रहेको छ । दीक्षित विदेशी विद्यार्थीमध्ये मुख्य १५ देश र विद्यार्थी सङ्ख्या यस प्रकार छ ।

देश विद्यार्थी सङ्ख्या
भारत ४९७६
क्यानडा २१
श्रीलङ्का ३९९
भुटान २०
अमेरिका ८५
चीन १९
माल्दिभ्स ७५
जाम्बिया १८
जर्मनी ३३
दक्षिण अफ्रिका १४
बाङ्लादेश २५
पाकिस्तान १३
बेलायत २१
अष्ट्रेलिया १०
रुस १०

नियमितझैं विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई स्वर्ण पदक वितरण गरिएको छ । चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थी पनि यसपटक स्पेनकी सुश्री माइटे कास्टेलानो मेन्चाका रहेकी छन् ।

३१ औं दीक्षान्त समारोह (पहिलो चरण)को भोलीपल्ट २०८२ मंसिर २५ गते नै काठमाडौं विश्वविद्यालयले आफ्नो स्थापनाको ३४ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । समारोहमा विश्वविद्यालयमा २५ वर्ष निरन्तर सेवा गर्ने तथा वि.सं. २०७६ यता सेवा निवृत्त भएकाहरुलाई सम्मान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *