पनौती । पनौती नगरपालिका–४ स्थित काभ्रे इङ्गलिस माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लागूऔषध दुव्र्यसन तथा साइबर अपराधबाट जोगिन सचेत गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको प्रस्तुतीकरण तथा प्रहरी चौकी, पनौतीको सहजीकरणमा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार तथा समाजमा पर्न सक्ने असर, लागूऔषधबाट बच्ने उपाय, साइबर अपराधका विभिन्न स्वरूप तथा डिजिटल सुरक्षाका विषयमा विद्यार्थीहरूलाई जानकारी दिइएको थियो । प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधको जोखिमसमेत बढ्दै गएकाले सामाजिक सञ्जाल तथा डिजिटल माध्यम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा समेत विद्यार्थीलाई सचेत गराइएको थियो ।
कार्यक्रमलाई विद्यार्थीमैत्री, ज्ञानवर्धक तथा प्रभावकारी बनाउन प्रहरी नायब निरीक्षक सिताराम खतिवडा र प्रहरी सहायक निरीक्षक सुदिप दासले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल वसन्तराज नेपालका अनुसार विद्यार्थीलाई केवल पाठ्यपुस्तकीय ज्ञानमा सीमित नराखी उनीहरूको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सामाजिक तथा डिजिटल जोखिमबारे सचेत गराउनु आवश्यक भएकाले कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रहरी अधिकारीहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ । विद्यालयले सचेत विद्यार्थी, सुरक्षित समाज भन्ने मूल भावनाका साथ विद्यार्थीहरूलाई सुरक्षित, जिम्मेवार र सचेत नागरिकका रूपमा विकास गर्न यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
