सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडानम्बर ६ मा रहेको श्री तेर्से माध्यमिक विद्यालयले आफ्नो ३५औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)को प्रमुख आतिथ्यतामा विद्यालयले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले तेर्से माध्यमिक विद्यालय जिल्लाकै नमुना समुदायिक विद्यालयको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गर्नुभयो । विद्यालयलाई सधैं प्राथमिकता दिने उल्लेख गर्दै मन्त्री तामाङले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि तेर्से माध्यमिक विद्यालयबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो । अब एक वडा एक विद्यालय, एक वडा एक छात्रावासको अवधारणा अनुसार अगाडि बढ्ने हो भने शिक्षामा केही सुधार गर्न सकिने बताउनुभयो । उहाँले कतै दरबन्दी थुप्रिने र कतै अभाव हुने समस्याको समाधान हुने उल्लेख गर्नुभयो ।

मन्त्री तामाङले विकास आजको आजै र भोलिको भोलि नै नहुने भएकाले आफू निर्वाचित भइसकेपछि गरेका काम हेर्नका लागि आफ्नो पूरै कार्यकाल कुर्न आग्रह गर्नुभयो । धेरै कामको सुरुवात भइसकेको उल्लेख गर्दै आफ्नै कार्यकालमा धेरै काम सम्पन्न हुने जिकिर गर्नुभयो । हिजो निर्वाचनको समयमा गरेका बाचाहरु एक एक गरेर पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्यालयको समस्या र मुख्य चुनौती समाधानका लागि प्रदेशमा आवाज उठाइरहने बताउनुभयो । उहाँले ३०० सिट फर्निचरको लागि ब्यबस्थापनको जिम्मेवारीसमेत लिनुभयो ।

कार्यक्रमका अवसरमा नगरपालिकाका स्रोत विज्ञ योगबहादुर थापा, छिमेकी विद्यालयका प्रधानाध्यापक उद्ववप्रसाद लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक योगबहादुर अर्यालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यार्थी संख्याको अनुपातमा विषयगत शिक्षक दरबन्दी संख्या कमि हुनु, निजी स्रोतका शिक्षकका लागि अभिभावकसँग सहयोग लिनुपर्ने बाध्यता, आर्थिक स्रोतको अभाव, कक्षाकोठाका फर्निचर जीर्ण बन्दै जानु र करिब ३०० सेट फर्निचरका लागि १५ लाख ब्यवस्थापन गर्नु र विद्यालय बसको लागि चालक, मर्मत लगायतको खर्च आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न कठिन हुनुलाई विद्यालयले मुख्य चुनौतीको रुपमा अगाडि सारेको छ ।

कार्यक्रममा विधागतरुपमा उत्कृष्ट शिक्षक, उत्कृष्ट बिषय शिक्षक, एसइइ उत्तीर्ण उत्कृष्ट १५ विद्यार्थी विद्यालय बस खरिदमा सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक राजन लामिछाने र रामभक्त दनुवारले गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा शिक्षक, विद्यार्थी, कलाकार पदम दुलाल, मन्जु गौतम लगायतको प्रस्तुतिले मनोरञ्जन प्रदान गरेको थियो । विद्यालयको ३५औँ वार्षिक उत्सवको अवसरमा मेलम्ची नगरपालिका‚ हेलम्बु‚ इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिकास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बिजेता इष्ट पोइन्ट एकेडेमी, दोस्रो भएको जाल्पादेवी मावि मेलम्ची–२ र तेस्रो भएको तेर्से माविलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रथम‚ द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २० हजार‚ १५ हजार र १० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका शिक्षक भिमबहादुर तामाङले जानकारी दिनुभयो । साथै अन्य प्रतियोगिताका विजेतालाई समेत पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *