काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ)को आर्थिक वर्ष २०८२÷०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम मंगलबार बनेपास्थित संघकै आफ्नै भवनको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमले संघको वित्तीय अवस्था, प्रशासनिक सुधार, सेवा विस्तार तथा भावी कार्ययोजनाबारे स्पष्ट दिशानिर्देश प्रस्तुत गरेको छ ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरू, पदाधिकारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम संघका सचिव प्रकाश बञ्जाराले सञ्चालन गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष शान्ति लामा तामाङले स्वागत मन्तव्य व्यक्त गर्दै अर्धवार्षिक समीक्षा संस्थागत पारदर्शिता, उत्तरदायित्व र सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । कार्यक्रममा संघका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा संघको कोष अवस्था विगत वर्षहरूको तुलनामा उल्लेखनीयरूपमा सुदृढ बनेको छ ।

सञ्चालन खर्चमा मितव्ययिता अपनाइएकाले अनावश्यक व्यय घटेको र विभिन्न शीर्षकमा आम्दानी वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विशेषगरी संघको नवनिर्मित भवनबाट प्राप्त भाडा तथा पार्किङ व्यवस्थापनमार्फत भएको आयले नियमित आम्दानीको स्रोतलाई थप मजबुत बनाएको जनाइएको छ ।

समीक्षा बैठकमा अध्यक्ष श्रेष्ठले संघले हासिल गरेको उपलब्धि सामूहिक प्रयास र सहकार्यको परिणाम भएको बताउनुभयो । उहाँका अनुसार संघलाई क्रमशः ‘पेपरलेस’ प्रणालीमा रूपान्तरण गर्ने कार्य सुरु भइसकेको छ ।

त्यसैगरी, निष्क्रिय सदस्य संस्थाहरूलाई सक्रिय बनाउने विशेष अभियान सञ्चालन गरिने र लामो समयसम्म निष्क्रिय रहने संस्थालाई विधिसम्मत प्रक्रियामार्फत विदाइ गर्ने नीति लिइने जनाइएको छ । संघले सदस्य संस्थाको क्षमता अभिवृद्धि, तालिम तथा परामर्श सेवामा समेत प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *