ज्ञानमणि नेपाल कालोटोपी
बनेपा। जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाको धुलिखेल र बनेपामा रहेका पेट्रोल पम्प र ग्याँस कम्पनीको अनुगमन गरेको छ । सोमबार बनेपामा रहेका ग्याँस कम्पनीहरुको अनुगमन गरेको प्रशासनले मंगलबार पेट्रोल पम्पहरुको अनुगमन गरेको हो । बजारमा ग्याँसको अभाव देखिएको उपभोक्ताहरुको गुनासो आएपछि पहिले ग्याँस कम्पनीको अनुगमन गरिएको र चुनावमा पेट्रोलियम पद्धार्थको दुरुपयोगबाट अप्रिय घटनाहरु हुनसक्ने विषयलाई मध्यनजर गर्दै पेट्रोल पम्पहरुको पनि अनुगमन गरिएको कार्यालयले जनाएको छ ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन विष्ट, उद्योग तथा वाणिज्य कार्यालयका रबिन्द्र चौंलागाईं, प्रहरी हवल्दार उत्तमकुमार राई, जिल्ला प्रशासन कार्यालयका राजु शर्मा, पत्रकार महासंघ काभ्रेका कार्यसमिति सदस्य ज्ञानमणि नेपाल, उद्योग वाणिज्य संघका रञ्जित पलाञ्चोके तथा सुनिल कर्माचार्यसहितको टोलीले अनुगमन गरेको हो ।
सोमबार सगर ग्याँस, सूर्य ग्याँस, चण्डी ग्याँस तथा लोकप्रिय ग्याँसका कम्पनीहरुमा अनुगमन गरिएको थियो । ग्याँस नियमितरुपमा आइरहेको भएपनि चुनावमा केही दिन भारततिर जोडिएका नाका बन्द हुने भएको हुँदा सर्वसाधारणले नाकाबन्दी भनेर बुझेका कारण घरघरमा ग्याँसको स्टक राख्न थालेकाले बजारमा केही अभाव भएको पाइएको तर यसमा आत्तिनु पर्ने अवस्था भने नभएको सहायक प्रजिअ गुरागाईंले जानकारी दिनुभयो । ग्याँस नियमितरुपमै आयात भइरहेकाले स्टक नराख्न उहाँले सर्वसाधारणलाई अनुरोध पनि गर्नुभयो ।
यस्तै मंगलबार धुलिखेलका भगवती आयल स्टोर तथा माता उग्रचण्डी आयल स्टोर र बनेपाका उग्रचण्डी र चण्डेश्वरी आयल स्टोरको अनुगमन गरिएको थियो ।
ती पेट्रोल पम्पहरुमा कतिपयमा मूल्यसूची देखिने ठाउँमा नराखेको पाइएकाले त्यसलाई देखिने ठाउँमा राख्न निर्देशन दिइएको थियो । यस्तै कार्यालयहरुमा सरसफाइ नभएको पाइएकाले सफा राख्न पनि निर्देशन दिइएको छ । इन्धनको मापनमा भने कुनै पनि गढबडी पाइएको छैन । कतिपयका कागजपत्रहरु प्रशासनमा बुझाउन पनि निर्देशन दिइएको तथा खुल्ला भाँडाहरुमा डिजेल र पेट्रोल नबेच्न र गाडी तथा मोटरसाइकलमा मात्र हाल्नका लागि पनि निर्देशन दिइएको सहायक प्रजिअ गुरागाईंले बताउनुभयो ।
यो नियमित अनुगमनकै निरन्तरता भएको र आगामी दिनमा पनि यस्तो क्रम चलिरहने प्रशासन कार्यालयले जनाएको छ । यस्तै निर्वाचनको आचारसंहिता पालनामा पनि प्रशासनले नागरिकमा अनुरोध गरेको छ । अनुगमनकै क्रममा कतिपय सवारी साधनहरुले राजनीतिक दलहरुका झण्डा तथा ब्यानरहरु राखेर सवारी चलाइरहेको पाइएकाले त्यसलाई पनि हटाउन निर्देशन दिइएको थियो । विशेषगरि चुनावमा हुनसक्ने कुनै पनि अप्रिय घटनाहरुप्रति जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय काभ्रे एकदमै सचेत रहेकाले नागरिककै सूरक्षा संवेदनशीलताका लागि अनुगमन गरिएको बताइएको छ ।
