बनेपा । काभ्रेकाे बनेपा नगरपालिका १० मा रहेकाे नाइटिङ्गेल एकेडेमीले २०८१ मा एसईई उत्तीर्ण विद्यार्थीकाे बिदाइ तथा कक्षा एसकेजी उत्तीर्ण विद्यार्थीहरूको ११औँ दीक्षान्त समारोह सम्पन्न गरेकाे छ ।

शनिबार आयाेजित एक कार्यक्रमका बीच शैक्षिक सत्र २०८१ मा (एसईई) उत्तीर्ण ४३ जना विद्यार्थीलाई सम्मान र बिदाइ गर्दै कक्षा एसकेजी उत्तीर्ण ६४ विद्यार्थीहरूको ११औँ दीक्षान्त समारोह सम्पन्न भएको हाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंजितकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाका प्रमुख झलक सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेत, विद्यालयका को–अर्डिनेटर विक्रम प्रजापति तथा प्रि–प्राइमरी को–अर्डिनेटर पुण्यश्वरी मानन्धर लगायतले विद्यालयले प्रदान गरिरहेको गुणस्तरीय शिक्षा, आधुनिक भौतिक पूर्वाधार, प्रविधियुक्त शिक्षण प्रणाली, बालबालिकाको सिकाइ उपलब्धि, व्यवहारिक, नैतिक तथा सामाजिक शिक्षाबारे जानकारी दिनुभएकाे थियाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंजितकारले समुदाय, अभिभावक र विद्यालय परिवारको संयुक्त सहभागिताबाट मात्र विद्यार्थीहरूले आवश्यक सीप, ज्ञान र संस्कार हासिल गर्न सक्ने बताउनुभयाे । उहाँले नाइटिङ्गेललाई जिल्लाकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्यसहित अघि बढिरहेको पनि उल्लेख गर्नुभयाे ।

विद्यालयमा छुट्टाछुट्टै खेल मैदान, अतिरिक्त क्रियाकलापका लागि आवश्यक सम्पूर्ण सामग्री तथा जिल्लामै उत्कृष्ट शैक्षिक वातावरण रहेको विद्यालयले जनाएको छ । खेलकुद, कला, अनुशासन र नेतृत्व विकासमा समेत विद्यालयले निरन्तर प्राथमिकता दिँदै आएको छ।

कार्यक्रममा विद्यालयकी प्रथम महिला सिन्जा रञ्जित, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *