धुलिखेल । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक मातहतका इलाका प्रहरी कार्यालय बनेपा तथा इलाका प्रहरी कार्यालय कार्तिके देउरालीबाट प्रहरी अधिकृतहरूको कमाण्डमा निस्किएको लङ रुट पेट्रोलिङ टोलीले विभिन्न वडा क्षेत्रहरूमा सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ ।
पेट्रोलिङका क्रममा अपराधिक गतिविधि नियन्त्रण, बालविवाह न्यूनीकरण, अवैध घरेलु मदिरा नियन्त्रण, फरार प्रतिवादी पक्राउ, घरेलु हिंसा न्यूनीकरण, जुवातास नियन्त्रण, डढेलो तथा आगलागी नियन्त्रण, लागूऔषध नियन्त्रण लगायतका सामाजिक विषयमा स्थानीय नागरिक, जनप्रतिनिधि तथा विद्यार्थीहरूसँग छलफल तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त कार्यक्रमपछि प्रहरी टोली सुरक्षितरूपमा कार्यालय फिर्ता भएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा तथा नेपाल प्रहरीले समुदायमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न यस्ता गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
