ज्ञानमणि नेपाल कालाेटाेपी
धुलिखेल । स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम सञ्चालन र व्यवस्थापकीय कार्यसम्पादनमा काभ्रेपलाञ्चोक जिल्लाले बागमती प्रदेशमै उल्लेखनीय उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन मूल्यांकनमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक प्रदेशका १३ जिल्लामध्ये प्रथम भएको छ भने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोक प्रदेशका १३ वटा चिकित्सालयमध्ये तेस्रो हुन सफल भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बिहीबार आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने दुवै कार्यालयका प्रमुखलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। जनस्वास्थ्य कार्यालयकी प्रमुख रागिश्री कक्षपति श्रेष्ठ र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. अर्जुन उपाध्यायले प्रमाणपत्र ग्रहण गर्नुभएको हो। मुख्यमन्त्रीले दुवै कार्यालयले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसासमेत गर्नुभएको थियो।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले प्रदेशका १३ जिल्ला जनस्वास्थ्य कार्यालयमध्ये पहिलो स्थान हासिल गर्नु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो। जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार, खोप अभियान, रोग निगरानी, नसर्ने रोगको रोकथाम तथा नियन्त्रण र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलगायत क्षेत्रमा भएका कामले यो सफलता प्राप्त गर्न सहयोग पुर्याएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो।
काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्न सफल बनाउनु जनस्वास्थ्य कार्यालयको महत्वपूर्ण उपलब्धिमध्ये एक हो। जिल्लाका १६ देखि २३ महिनासम्मका ३ हजार १५५ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेपछि काभ्रेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो।
त्यसैगरी समुदायमा आधारित रोग निगरानी प्रणाली (CB-SORMAS) प्रभावकारी बनाउन जिल्लाका १३ स्थानीय तहअन्तर्गतका १७३ स्वास्थ्य संस्थाका करिब ३८० स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको थियो। यसले समुदायस्तरमै सम्भावित रोग तथा प्रकोपको पहिचान र समयमै सूचना प्रवाह गर्ने क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि पनि जिल्लामा उल्लेखनीय काम भएका छन्। मधुमेह र उच्च रक्तचापजस्ता रोगको पहिचान, उपचार तथा नियन्त्रणका लागि १३ वटै स्थानीय तहबीच साझा प्रतिबद्धता निर्माण गरिएको छ। यस क्रममा ६१८ जना स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको र करिब १० हजार व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेको तथ्यांक सार्वजनिक गरिएको थियो। त्यस्तै डेङ्गी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम, लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो।
यसैगरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकले पनि प्रदेशस्तरको कार्यसम्पादन मूल्यांकनमा तेस्रो स्थान हासिल गरेको छ। विगतका वर्षमा १०औँ स्थानभन्दा पछाडि रहने गरेको कार्यालयले गत वर्ष चौथो स्थान हासिल गरेको थियो। यस वर्ष थप सुधार गर्दै तेस्रो स्थानमा उक्लिन सफल भएको कार्यालय प्रमुख डा. उपाध्यायले जानकारी दिनुभयो।
जिल्लामा आयुर्वेद सेवाको पहुँच विस्तार, सेवा प्रवाहमा सुधार र नागरिकलाई स्वस्थ जीवनशैलीबारे सचेत गराउने उद्देश्यले कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। जिल्लाका आठवटा स्थानीय तहअन्तर्गत सञ्चालित आयुर्वेद सेवा तथा कार्यक्रमको नियमित समीक्षा, अनुगमन र योजना तर्जुमालाई समेत प्राथमिकता दिइएको छ।
हालै सम्पन्न जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा आठवटै स्थानीय तहबाट आयुर्वेद सेवाको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरिएको थियो। कार्यसम्पादनका आधारमा नमोबुद्ध नगरपालिका अन्तर्गतको दाप्चा आयुर्वेद औषधालय उत्कृष्ट घोषित भएको थियो भने बेथानचोक गाउँपालिकाअन्तर्गतको नागरिक आरोग्य केन्द्र उत्कृष्ट ठहरिएको थियो।

त्यसैगरी बनेपास्थित आयुर्वेद चिकित्सालयबाट एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु गरिएको छ। बालस्वास्थ्य प्रवर्द्धन र आयुर्वेद सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमबाट बनेपा तथा आसपासका क्षेत्रका बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ।
कार्यालयले प्रत्येक हप्ताको बुधबार पथ्याहार कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। कार्यक्रमअन्तर्गत आयुर्वेदमा वर्णित ऋतुचर्या तथा मौसमअनुसार उपयुक्त खानपानबारे सेवाग्राहीलाई जानकारी दिनुका साथै पथ्याहार तयार गर्ने विधि सिकाउने र प्रत्यक्ष रूपमा तयार गरिएको परिकार खुवाउने गरिएको छ। यसले नागरिकलाई स्वस्थ खानपान र जीवनशैली अपनाउन प्रेरित गर्ने कार्यालयको अपेक्षा छ।
दुवै कार्यालयका प्रमुखले प्राप्त उपलब्धिलाई सामूहिक प्रयासको परिणामका रूपमा लिँदै स्थानीय तह, अस्पताल, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गर्नुभएको छ।
जनस्वास्थ्य कार्यालय प्रमुख श्रेष्ठले जिल्लाको स्वास्थ्य क्षेत्रसँग जोडिएका सबै पक्षको मेहनत र सहकार्यबाट प्रदेशमै प्रथम हुन सफल भएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय, पहुँचयोग्य र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाउनुभएको छ।त्यस्तै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख उपाध्यायले विगतको तुलनामा कार्यसम्पादनमा निरन्तर सुधार हुँदै गएको उल्लेख गर्दै तेस्रो स्थान हासिल गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
दुई कार्यालयले हासिल गरेको यो उपलब्धिले काभ्रेपलाञ्चोकको स्वास्थ्य क्षेत्रमा आधुनिक स्वास्थ्य सेवा र आयुर्वेद तथा वैकल्पिक चिकित्सा दुवैतर्फ सुधारका प्रयास अघि बढिरहेको देखाएको छ। आगामी दिनमा यी उपलब्धिलाई निरन्तरता दिँदै नागरिकले आफ्नै जिल्लामा सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नु चुनौती र अवसर दुवै बनेको छ।
