धुलिखेल । काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालको उन्नत स्ट्रोक केन्द्रले विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट प्राप्त प्रमाणीकरणको औपचारिक प्रमाणपत्र हासिल गरेको छ । यस वर्षको सुरुमै प्रमाणीकरण प्राप्त गरेको अस्पताललाई हाल आयोजित समारोहमा प्रमाणपत्र औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

अस्पतालका अनुसार यो उपलब्धि अन्तर्राष्ट्रिय मान्यतामा सीमित नभई सबै नागरिकलाई गुणस्तरीय स्ट्रोक उपचार (मस्तिष्कघात) सेवा उपलब्ध गराउने प्रतिबद्धताको महत्वपूर्ण कडी हो । विशेषगरी आर्थिकरूपमा विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरी उपचार सेवा थप सहज बनाउने अस्पतालको उद्देश्य रहेको छ ।

अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पुग्नुपर्ने मान्यता राख्दै आएको जनाएको छ। उपचारको गुणस्तर कायम राख्नुका साथै आर्थिक अवस्था र भौगोलिक अवस्थितिका कारण कसैले पनि विशेष उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले काम गरिरहेको अस्पतालको भनाइ छ ।

प्रमाणीकरणले अस्पतालको स्ट्रोक उपचार सेवाको गुणस्तर र सेवालाई थप प्रभावकारी बनाउने प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाएको छ । अस्पतालले यस उपलब्धिसँगै नेपालका नागरिकका लागि विशेष उपचार सेवा थप पहुँचयोग्य, समान र किफायती बनाउने प्रतिबद्धता पनि दोहो¥याएको छ ।

अस्पतालले स्ट्रोक उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि उच्चस्तरीय उपचार सेवा प्रदान गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *