काभ्रे । जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं.–१० स्थित चण्डेनीमण्डन साना किसान कृषि सहकारीको सातौं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
प्रमुख अतिथी मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा र विशेष अतिथी उपमेयर विष्णुमणि नेपाल लगायतको आतिथ्यतामा आँपघारीस्थित संस्थाको कार्यालयमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष सुमन नेपालले संस्थाले शुरुदेखि नै किसानमुखी कार्यक्रम मात्र गरिरहेको जानकारी दिँदै संस्थाका वार्षिक गतिविधीहरु प्रस्तुत गर्नुभएको थियो । आफ्नो लागि त जनावरले पनि काम गर्छ, मानिसले आफ्नो लागि मात्र नभएर अरुको लागि पनि केही गर्न सक्नु पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले दिनुभएको जानकारी अनुसार संस्थाको प्रतिसदस्य मासिक बचत न्यूनतम २०० रुपैंयाँ राखिएको छ । यस्तै समूह संस्या १०१ र सदस्य संख्या १ हजार ३२ रहेको छ । जसमा महिलाको संख्या ७२४ र पुरुष सदस्य ३०८ जना रहनुभएको छ भने संचालक समितिका सदस्य ९ जनामध्ये ८ जना महिला नै रहनुभएको छ ।
संस्थाको शेयरपूँजी ४३ लाख ७७ हजार ७०० र निक्षेप १ करोड १८ लाख ९० हजार ४९८ रुपैयाँ रहेको छ । ऋण लगानी २ करोड ५३ लाख ८२ हजार ७१२ रुपैंयाँ रहेको पनि कार्यक्रममा जानकारी दिइयो । साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी नगरपालिकाका मेयर वाइवाले चण्डेनीमण्डन साना किसान सहकारीले छोटो समयमै राम्रो काम गर्दै अघि बढेको भन्दै संस्थालाई थप प्रगतिको शुभकामना दिनुभयो । उहाँले च्याउसरि खुलेका सहकारीहरुको भीडमा यस सहकारीले आफूलाई नमूना बनाउन सफल भएको र विभिन्न वडामा छरिएका सहकारीलाई एकीकरण गरि काम गर्न सुझाव दिनुभयो ।
उपप्रमुख विष्णुमणि नेपालले महिलाहरुलाई जागरुक बनाउन चण्डेनीमण्डन साना किसान सहकारीले खेलेको भूमिका उल्लेख्य रहेको चर्चा गर्दै किसानहरुको हितमा काम गर्ने सहकारीलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । उहाँले पालिका राम्रो काम गर्ने सहकारीलाई पुरस्कृत गर्ने र आलटाल गर्नेहरुलाई कारबाही गर्ने नीति लिएर अघि बढेको बताउनुभयो । कार्यक्रममा पूर्वउपप्रमुख निर्मला शाही, जिल्ला सहकारी संघका उपाध्यक्ष मिरा सत्याल, अम्बिका हमाल, रुद्र तामाङ लगायतले चण्डेनीमण्डन साना किसान कृषि सहकारीको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा संस्थालाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुका साथै सदस्यहरुलाई पुरस्कृत पनि गरिएको थियो । साधारणसभामा उपस्थित सदस्यहरुमध्येबाट गोलाप्रथाका आधारमा पहिलो हुनेलाई डिएपी मल एक बोरा, दोस्रो हुनेलाई कोदाली, तेस्रो हुनेलाई यूरिया मल एक बोरा र सान्त्वना पुरस्कार दूध बोक्ने क्यान र कोदालो प्रदान गरिएको थियो भने विभिन्न किसानहरुलाई तरकारीका बीउ, विषादीलगायतका कृषि सामाग्री पनि वितरण गरिएको थियो । कार्यक्रममा लेखा परिक्षकको प्रतिवेदन संयोजक रामकृष्ण नेपालले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले यसअघि विभिन्न चरणमा किसानहरुका लागि कृषि औजारहरु ट्याक्टर, स्पेयर पम्पलगायत ५० प्रतिशत अनुदानमा वितरण गर्दै आइरहेको थियो । यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तर रहने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *