काभ्रे । पुरातत्व विभागले पाँचखाल नगरपालिका–७ स्थित पुरातत्वस्थलमा रहेका प्राचीन सम्पदा क्षेत्रमा यस वर्ष उत्खनन गर्ने भएको छ ।
विभागले प्रारम्भिक चरणमा ०७७ चैतमा गरेको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण)का आधारमा करिब चार वर्षपछि उत्खनन गर्ने जनाएको हो । विभागको पहलमा बेलायती विज्ञ समूहद्वारा उक्त स्थलमा गरिएको सर्भेको प्रतिवेदनअनुसार पुरातत्विक सम्पदाको प्रचुर सम्भावना देखिएकाले पुनःजियोफिजिकल सर्भे गरिनुपर्ने जनाइएको थियो । विज्ञ समूहको उक्त सर्भेको प्रतिवेदन २०७८ सालमा विभागमा आएको थियो । प्रतिवेदनमा लिच्छवीकालीन र मध्यकालीन सम्पदा देखिएपछि पुनः सर्भे गरी उत्खनन गर्न सुझाव दिइएको थियो ।
प्रतिवेदनमा पुनः सर्भे गर्न सुझाइएपछि विभाग र पाँचखाल नगरको समन्वयमा सर्भे र उत्खनन गर्न छलफल भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले पाँचखाल नगरको विभिन्न स्थानमा गरिएको सर्भेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएपछि बजेट तथा योजना बनाई चालु आर्थिक वर्षभित्र पुनः सर्भे गरिने जनाइएको थियो । विस्तृत प्रतिवेदन सार्वजनिक गरेपछि पाँचखालको सम्पदालाई प्राथमिकतामा राखेर थप उत्खनन गर्नुपर्ने कुँवरले जनाउनुभयो । विभागले पुनःसर्भे र उत्खननबारे कार्ययोजनासहित पाँचखाल नगर कार्यालयलाई योजना प्रतिवेदन बुझाएको थियो ।
नगरप्रमुख महेश खरेलले पाँचखालको सम्पदा संरक्षणमा योजनाबद्ध प्रयास भइरहेको बताउनुभयो । उहाँका अनुसार पुनः सर्भेका लागि विभागले थप प्रक्रिया चाल्नुपर्छ । सर्भेयता उक्त स्थानमा खेतीपाती हुँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *