ज्ञानमणि नेपाल कालोटोपी
म कसैको खास मान्छे हुँ भन्ने तपाईंलाई कतै अहम त छैन ? यदि छ भने त्यो तपाईंको भ्रम मात्र पनि हुन सक्छ । किनकी यो संसारमा कोही कसैको खास मान्छे नै हुँदैन । जो मान्छे नजिक छ नि ऊ पनि सिमित अवधिका लागि र आफ्नो स्वार्थ पूरा गर्नका लागि हो तपाईंको खास मान्छे जस्तो भएको । त्यहि मान्छे हो तपाईंको नजिकको शत्रु हुने पनि । किनभने तपाईंसँग नजिक भएर उसले तपाईंका सबै आनीबानीहरु थाहा पाइरहेको हुन्छ । तपाईंको कमजोरीहरुको मेसो पाइरहेको हुन्छ, तपाईंका राम्रा कुराहरु बरु उसले त्यति मतलब राख्दैन । जब तपाईंसँग केही सामान्य कुरामा मन नमिल्न सक्छ नि, त्यही मौकामा उसले तपाईंमाथि प्रहार गर्न थाल्छ। अब भन्नुस् त तपाईं कसैको खास मान्छे कसरी हुनुभयो ?
‘म कसैको प्रेममा छु, म त्यो बिना बाँच्नै सक्दिनँ, त्यो त मेरो लागि नै जन्मिएको हो ।’ यस्ता भ्रमहरु कसैले पनि पाल्नु हुँदैन । तपाईं जन्मिँदा एक्लै जन्मिनुभएको होइन र ? सँगै जन्मिएका जुम्ल्याहा मानिसका त विचार फरकफरक हुन्छन् भने तपाईंले यस धर्तीमा आइसकेपछि चिनजान भएका साथीभाइ, आफन्तलगायतहरु कसरी तपाईंको अपरिहार्य हुन सक्छन् र ? तपाईंले मेरो मुटु भनेर सम्बोधन गर्ने श्रीमान, श्रीमती, छोराछोरी, बाआमालाई त छोडेर जानुपर्छ भने अरु त हिँड्दै गरेको दोबाटोमा भेटिएका साथीहरु न हुन् । तिनीहरुसँगसँगै रहँदा मात्र हो, छुटिएपछि के हुन्छ के । तर मनमा माया भने लुकेर रहेको हुन्छ । चाहे तपाईंको जीवनमा त्यो खास भनिएको व्यक्ति आओस् वा नआओस् ।
कोही व्यक्तिको खास ऊ आफैं हो । जसले अरुको भर नपरोस्, अरुको आशा गर्नु नपरोस्, इगो र बदलाको भावबाट टाढा रहन सकियोस् । आज मन्दिरमा विशेष भनेर चढाइएको सुन्दर फूल त भोलि बिहान नहुँदै कसिंगर भएर फालिनु पर्छ भने हामी त मान्छे । त्यहाँमाथि कमीकमजोरी त कति हुन्छन् कति । हरेकपल सुधारिँदै अघि बढ्नुपर्छ । यस्तो अवस्थामा खास मान्छे को होला त ? यदि तपाईंलाई कोही व्यक्ति खास त हुन्छ नै लाग्छ भने त्यो कि तपाईंको छायाँ हुन्छ कि अन्तरआत्मा । नत्र अरु सबै क्षणिक मात्र हुन् ।
तर यहाँ हामीले के बुझ्नु पर्छ भने तिर्खा मेटाउन पानीको विकल्प मोही हुन सक्ला तर पानीले दिने सन्तुष्टि मोहीले दिन सक्दैन । किनकी पानीलाई पिउनका लागि मात्र पनि त प्रयोग गरिँदैन नि । मोहीको पनि आफ्नै स्वाद र विशेषता त हुन्छ नै तर मोहीलाई पानीको सट्टा प्रयोग गर्न पक्कै सकिँदैन । त्यसैले यी सत्य कुरा छोड्ने हो भने मानिस कसैको भर नपरि एक्लै बाँच्न र आफ्नो अस्तित्व जोगाउन भने सक्दैन । मानिससँग एउटै मात्र चीज छ त्यो हो दिमाग । हरेक ठाउँमा उसले आफ्नो दिमाग चलाउन र प्रयोग गर्न सक्छ, जुन अरु प्राणी र जनावरले वीरलै मात्र सक्छन् । सिंहलाई बाँच्न र बचाउन प्रकृतिले बल, नङ्ग्रा र दाह्रा दिएको छ, मानिसलाई बुद्धि अर्थात दिमाग । आज संसारमा मानिसले जे जति चमत्कार गरेको छ त्यो सबै उसको दिमागको कमाल हो । यदि दिमागले काम गरेन भने मानिस मानिस हुनै सक्दैन ।
मन मिल्नेसँग विचार मिल्दैन, विचार मिल्नेसँग मन मिल्दैन । दुवै मिल्नेसँग भाग्य मिल्दैन, कति अचम्मको छ नि जिन्दगी । अनि अन्तिममा एक्लाएक्लै दौडिन्छन् जिन्दगीहरु । कुन मोडमा कहाँ पुगेर सकिनु परेको छ, त्यहाँ नपुग्दासम्म दौडिरहन्छ मानिस । दौडिँदादौडिँदै कतिबेला अन्तिम सास फेर्नु छ त्यो मानिसलाई थाहा छैन । न कसैलाई छिटो जानु छ भनेर पाइन्छ, न कसैलाई सधैं संसारमा रहिरहन पाइयोस् भनेर पाइन्छ । हिजो जन्मिँदा जति लिएर आएको छ, जे लिएर आएको छ, त्यही हो पाइने । त्यहाँसम्म मात्र हो भोगाई । त्यसैले भनिन्छ, ‘जीवन एक, भोगाई अनेक ।’
मानिसले कहिलेकाहिँ ढुंगासँग पनि नाता जोड्नु पर्छ । जीवन जीउन मानिस मात्र साथ भएर हुँदैन । कहिले त्यही ढुंगा मानिसका लागि फूल जस्तो पनि हुन सक्छ, कहिले त्यो हतियार बन्छ त कहिले जीवन जीउने साहारा पनि । भन्न खोजेको कुरा के हो भने मानिस सबै फूल जस्ता मात्र हुँदैनन्, ढुंगा जस्ता पनि हुन्छन् । जति फूलको महत्व छ नि मानव जीवनमा, त्यति नै ढुंगाको पनि महत्व छ । फोहोर पानी पिउन काम लाग्दैन तर कहिलेकाहिँ आगलागी हुँदा त्यो आगो नियन्त्रणका लागि त काम लाग्छ नि । हामीले यो कुरा भुल्नु हुँदैन ।क्रमशः
